सानो भनिएपनि नेपाली बजारमा बलीउड फिल्महरुले हप्ता दिनमा नै करोडमाथीको व्यापार गरेको खबर बेला बखतमा सुन्ने गरिन्छ । नेपाली फिल्मले सय दिन मनाउँदा मुश्किलले १५ करोड ग्रस कलेक्शन गर्छन तर बलीउड फिल्म दुई हप्ता मात्रै नेपाली हलहरुमा टिक्यो भने सारा रेकर्ड तोड्छ । बलीउडका तीन खान सलमान, शाहरुख र आमिरको फिल्म आउँदा त अझ नेपाली बजार उनीहरुको नै हो कि भन्ने महशुस गराउँछ । कारण, नेपाली बजारमा बलीउडका तीन खानका फिल्मसँग आफ्नो फिल्म जुधाउन नेपाली निर्माताहरु कहिले तयार हुँदैनन् । मल्टिप्लेक्समा मात्र होइन सिंगल हलहरुमा पनि यी तीन खानका फिल्महरुले राम्रै स्थान पाउँछन् तर नेपाली फिल्म चलाउन न हल सञ्चालक मान्छन् न त वितरक नै ।
यस्तै भएको छ यो हप्ताको शुक्रबार पनि । आज शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शन आरम्भ गरेको बलीउडस्टार आमिर खान अभिनित चलचित्र ‘दंगल’ ले नेपाली हलहरुमा राम्रै कब्जा जमाएको छ । ४ करोड अग्रिम रकम तिरेर गोपीकृष्ण मुभिजले नेपाल भित्राएको आमिर खानको दंगल आजबाट नेपालका सबै सिंगल र मल्टिप्लेक्स हलहरुमा प्रदर्शन भएको छ । तर, यो चलचित्रसँग जुध्ने आँट कुनै पनि नेपाली निर्माताहरुको भएन । प्राय शुक्रबार दुईभन्दा बढी नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउने नेपाली बजार यो शुक्रबार भने सुनसान देखिएको छ कारण एउटै हो आमिर खानको ‘दंगल’ । अहिले ७ औं हप्तामा नेपाली फिल्म ‘जात्रा’ मात्र प्रदर्शन भइरहेको छ । यसले के देखाउँछ भने नेपाली निर्माताहरुलाई आमिर खानको फिल्मसँग एकसाथ प्रदर्शनमा आए चेपुवामा परिन्छ भन्ने डर छ र यो सत्य पनि हो । किनकी यसभन्दा अगाडी तीन खानका फिल्मसँग आफ्नो फिल्म प्रदर्शन गर्दा पाएको दुख विर्सिएका छैनन् नेपाली निर्माताहरुले ।
त्यसैले त यो शुक्रबार पनि कुनै नयाँ नेपाली फिल्म हलमा भित्रिएका छैनन् । यो हप्ता नेपाली हलहरुमा आमिर खानको ‘दंगल’ ले नै एकलौटी राज गर्ने पक्का छ । यो चलचित्र हरियाणाका महावीर सिंहको यथार्थ कथामा आधारित छ। जसका दुई छोरी हुन्छन्, गीता र बबिता। महावीरले पहिले छोरा जन्मिने र रेस्लिङमा गोल्ड मेडल जित्ने सपना देखेका हुन्छन्, जुन पहिले महावीरको आफ्नो सपना थियो। तर, उनका दुवै छोरी जन्मिन्छन् र बाबुको सपना पुरा गर्छन्। आमिर तिनै छोरीलाई विश्वचर्चित रेस्लर बनाउन तालिम दिने बाबुको भूमिकामा छन्। नितेश तिवारी निर्देशित चलचित्रमा साक्षी तान्वर, फतिमा सना शेख, सान्या मल्होत्रा, जरिया वासिम, सुहानी भटनगरलगायतले अभिनय गरेका छन्।