गएको शुक्रबार साँझ दुबईमा सम्पन्न ‘नवौं नेफ्टा अवार्ड’ को विवाद अहिले चरम उत्कर्षमा छ । मनोमानी रुपमा वितरण गरिएको अवार्डप्रति चलचित्रकर्मीहरुको मात्र विरोध होइन अहिले नेपाल प्राविधिक संघको कार्यसमिति भित्रै चर्को आलोचना भइरहेको छ । यही विवादकै कारण सोमबार प्राविधिक संघका महा-सचिव सुरज आचार्यले आफ्नो पदबाट समेत राजीनामा दिइसकेका छन् । दुबई नजाने कलाकारको नाममा टिकट बेचेको खबरदेखी चर्को विवादमा मुछिएका ‘नवौं नेफ्टा अवार्ड’ गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘वडा नं. ६’ का निर्देशक उज्वल घिमिरेलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरेपछि त झन चौतर्फी आलोचना मात्र भइरहेको छ । उत्कृष्ट निर्देशकको अवार्ड उज्वल घिमिरेलाई र उत्कृष्ट चलचित्रको अवार्ड पशुपतिप्रसादलाई दिएपछि निर्देशक दीपेन्द्र के. खनालले त दुबईमा नै ‘नवौं नेफ्टा अवार्ड’ बहिस्कार गरेका थिए । उत्कृष्ट निर्देशकको अवार्ड उज्वल घिमिरेलाई दिएर उत्कृष्ट चलचित्रको अवार्ड ‘पशुपतिप्रसाद’ लाई दिएपछि दीपेन्द्रले अवार्ड कार्यक्रममा भनेका थिए -‘उत्कृष्ट निर्देशकको अवार्ड अरुलाई दिएपछि मैले उत्कृष्ट चलचित्रको अवार्ड लिनु नैतिक रुपले पनि मिल्दैन ।’ दीपेन्द्रले उक्त अवार्ड लिन स्टेज नचढेपछि ‘वडा नं. ६’ का निर्माता एवं कलाकार दीपकराज गिरीले उक्लिएका थिए । अहिले यही विषय सिनेबजारमा हटकेक बनेको छ ।
यही विषयमा हास्यकलाकार दीपकराज गिरीले आफ्नो चलचित्रले उत्कृष्ट निर्देशकको अवार्ड पाउनु गलत रहेको भन्दै फेसबुकमा स्टाटस कोरेका छन् । उनले लेखेका छन्, ‘दुबर्इमा भब्य अवार्ड भयो । आयोजकले बलीउडको अवार्ड झै लाग्ने गरेर तयारी पनि गरे, खान पिन, बसाई, स्वागत सब गज्जब थियो । तर हामीलाइ के पच्थ्यो त्यो भब्यता र शिष्टता । बिबादै बिबाद, तनाबै तनाब । यो सबै हलिउड शैलीले अवार्ड बितरण गरेकोले समस्या उत्पन्न भएको हो । लौ न यी ५ जनालार्इ एउटा तालिमको ब्यबस्था मिलाइ दिउँ । सबैलाइ बाढ्नु हलीउड शैली हुँदैन, बेष्ट डाइरेक्टर हुनलार्इ एक दुइ वटा अरू अवार्ड दिनु पर्थ्यो, अनि सबै बिधामा हार्ने फिल्म चाहिँ कसरी बेष्ट फिल्म हुन्छ ?’ उनको यो व्याङ्ग्य अवार्डका ५ जुरीलाई रहेको अनुमान लगाउन सकिन्छ ।