बलीउडस्टार सलमान खान भारतका मात्र लोकप्रिय कलाकार होइनन् उनका प्रशंसकहरु विश्वभर छरिएका छन् । उनका फिल्महरुले जसरी बल्कबस्टर ब्यापार गर्छन उनलाई आफ्नो स्टार मान्ने फ्यान पनि कम्ता छैनन् । नेपाली भूगोलमा समेत आफ्नो अभिनयले फ्यान क्रेज कमाएका सलमान खान आजबाट ५१ औं बर्षमा लागेका छन् । उनलाई विश्वभर रहेका फ्यानहरुले जन्मदिनको शुभकामना दिइरहँदा केही नेपाली कलाकारहरु पनि त्यसबाट अछुतो रहन सकेका छैनन् ।
तर, सलमान खानको क्रेज र ट्रेन्ड भारतीय भूगोलमा मात्र सिमिति छैन । छिमेकी देश नेपालमा समेत उनी अभिनित बजरंगी भाईजान, सुल्तान, प्रेम रतन धन पायो, किक, दबंग लगायतका चलचित्रहरुले गज्जबकै पैसा छापेका छन् ।
यति मात्र होइन, नेपाली फिल्मको मनोविज्ञानमा समेत सलमानको प्रभाव राम्रै परेको देख्न सकिन्छ । आजभन्दा तीन बर्ष अगाडी निर्माण भएको चलचित्र ६ एकान ६ मा कलाकार दीपकराज गिरी दुरुस्तै सलमान खानको अवतारमा देखिएका थिए । त्यस्तै, गएको बर्ष प्रदर्शनमा आएको चलचित्र सुश्रीमा अभिनेत्री आशिका तामाङले अभिनेता आर्यन सिग्देललाई लक्षित गर्दै आफुलाई सलमान खान मन पर्ने बताएकी थिइन । यति मात्र कहाँ हो र, नेपाली सिनेजगतकी चर्चित नायिका रेखा थापाले समेत चलचित्र ‘हिम्मतवाली’ मा ‘यो मेरो लाली जोवन त सल्लुको लागि’ भन्दै सलमान खान आफ्नो फेवरेट एक्टर रहेको पुष्टि गरेकी थिइन । यस्ता थुप्रै नेपाली फिल्महरु छन् जसमा सलमानको छायाँ परेकै छ ।
नायक आर्यन सिग्देल त झन आफु सलमान खानको डाईहार्ट फ्यान भन्न मिडियाको अगाडी पनि हिच्किचाउँदैनन् । उनी सलमानको अभिनयबाटै आफुलाई अभिनयमा लाग्ने प्रेरणा मिलेको बताउँछन् । सलमान खानले हातमा लगाएको चाँदीवाला ब्रासलेट समेत आर्यनले आफ्नो हातमा लगाएका छन् ।
त्यस्तै नायक हसनराजा खान पनि सलमान खानका हाईहार्ट फ्यान हुन् । उनलाई सलमानको विषयमा प्रश्न सोध्यो भने उनी प्रशंसा गरेर कहिले थाक्दैनन् । त्यस्तै अर्का कलाकार हुन् अनुभव रेग्मी । उनी पनि सलमान खानका हाईहार्ट फ्यान हुन । उनले एक अन्तर्वार्ताको क्रममा आफु सलमान खानको फ्यान रहेको र भविष्यमा सलमान जस्तै बन्ने सोच रहेको समेत बताएका थिए । अनुभवले पनि सलमान खानले हातमा लगाएको ब्रासलेट आफ्नो हातमा लगाएका छन् । यस्ता अन्य नेपाली कलाकारहरु पनि छन्, जो सलमान खानका हाईहार्ट फ्यान हुन । नेपाली कलाकारहरु मात्र होइनन् सलमान खानलाई ‘दिलको राजा’ मान्ने यूवा-यूवतीहरु पनि नेपालमा धेरै छन् । आज उनको जन्मदिनमा डाईहार्ट फ्यान रहेका नेपालका धेरै सेलिब्रेटीहरुदेखी प्रशंसकहरुले केक काटेर खुसीयाली समेत मनाउँदैछन् ।