२० बर्षदेखी नेपाली चलचित्रमा क्रियाशिल निर्माता एवं निर्देशक आकाश अधिकारी नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा निर्विरोध चयन भएका छन् । वुधबार मनोनयन दर्ता प्रक्रियामा आकाश बाहेक अध्यक्ष पदमा अन्य कुनै पनि निर्माताको उम्मेदवारी नपरेपछि उनी निर्माता संघको नयाँ अध्यक्षमा निर्विरोध चयन भएका हुन । आगामी शुक्रबार चलचित्र विकास बोर्डमा नेपाल चलचित्र निर्माता संघको सधारण सभा तथा नयाँ कार्यसमितिका लागि चुनाव हुँदैछ । त्यस्तै, महा सचिवमा सरोज थापा (रोज राणा) पनि निर्विरोध चयन भएका छन् । महा सचिव पदमा यसअघि आकाश प्यानलका निर्माता छविराज ओझाले उम्मेदवारी दिने कुरा थियो तर अन्तिम समयसम्म पनि महा-सचिव पदमा कसैको उम्मेवारी नपरेपछि रोज राणा महा-सचिवमा निर्विरोध चयन भएका हुन । त्यस्तै कोषाध्यक्ष पदमा निर्माता सुशिल पोख्रेल र सचिव पदमा निर्माता छविराज ओझाको मात्र उम्मेवारी दर्ता भएको छ । उपाध्यक्ष र सदस्य पदमा भने निर्वाचन हुने संकेत देखिएको छ । तर, भोलीसम्म उम्मेदवारी फिर्ता र दाबी विरोधको समय छ । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार रार्इले उपाध्यक्ष पदमा ३ जना र सदस्य पदमा ११ जनाको उम्मेदवारी परेको बताए । उनले उपाध्यक्ष र सदस्य पदमा पनि निर्विरोध गराउने पहल जारी राख्ने बताए । सदस्यमा उम्मेदवारी दिनेहरुमा करिश्मा मानन्धर, रोहित अधिकारी, रौनकबिक्रम कंडेल, भानुप्रताप, दिपेन्द्र के खनाल, निश्चल बस्नेत, दिपकराज गिरी, अर्जुनकुमार, चेतन सापकोटा, सुशान्त श्रेष्ठ र निकिता पौडेल छन् ।