प्रत्येक नयाँ बर्षमा नेपाली चलचित्रको भिडन्त हेर्न लायककै हुने गर्छ किनकी नयाँ बर्षलाई लक्षित गरेर निर्माताहरुले आफ्नो चलचित्रको प्रदर्शन मिति एकपछि अर्को फाइनल गर्दै जाँदा तीन भन्दा बढी हुने गर्छ । अर्को बर्षको सुरुवातको दिन पनि यसले निरन्तरता पाउने भएको छ । केही दिन अगाडी चलचित्र ‘लालपूर्जा’ ले आफ्नो रिलिज मिति पोष्टपोन्ड गरेको खबर बाहिरिएसँगै सोही मितिमा लड्न अर्का दुई नेपाली चलचित्र तयार भएका छन् । यसअघि ‘राधे’, ‘लभ लभ लभ’ र ‘घामपानी’ ले बैशाख १ गतेलाई रिलिज मिति फाइनल गरेका थिए र यसै मितिमा प्रदर्शन हुने भन्दै चलचित्र लालपूर्जा आएको थियो तर ‘घामपानी’ निर्माता र ‘लालपूर्जा’ निर्माताबीचको समझदारीमा ‘लालपूर्जा’ को प्रदर्शन मिति बैशाख २८ मा पुराइयो । ‘लालपूर्जा’ ले आफ्नो रिलिज मिति पोष्टपोन्ड गरेसँगै सोही मितिमा लड्न अर्का दुई नयाँ नेपाली चलचित्र आएका छन् । ति हुन चलचित्र ‘मेरी कुसुम’ र ‘ह्याप्पी न्यू ईयर’ । निखिल उप्रेती स्टारर चलचित्र ‘राधे’, दयाहाङ राई र केकी अधिकारी अभिनित चलचित्र ‘घामपानी’, स्वस्तिमा खड्का र सुरज पाण्डे अभिनित चलचित्र ‘लभ लभ लभ’, मोहन बोगटी अभिनित चलचित्र ‘मेरी कुसुम’ र सन्ध्या केसी र कौशल थापा अभिनित चलचित्र ‘ह्याप्पी न्यू ईयर’ नयाँ बर्षमा एकसाथ प्रदर्शनमा आउने पक्का भएका छन् ।
नयाँ बर्ष आउन अझै ३ महिना बढी भएका कारण यी पाँच चलचित्रले आफ्नो रिलिज मिति पोष्टपोन्ड गर्छन वा गर्दैनन् त्यो भने हेर्न बाँकी नै छ तर यसो भएन भने बैशाख १ गते पाँच नेपाली चलचित्रको लडाइँ गज्जबकै हुनेछ ।
यसरी एकसाथ पाँच चलचित्र मैदानमा उत्रिदा फाइदा पुग्ने कसैलाई पनि होइन तर निर्माताहरुबीचको ब्यावसायिक द्धन्द्धले गर्दा बैशाख १ गते पाँच चलचित्र एकसाथ प्रदर्शनमा आउने लगभग पक्का भएको छ । यस पटक बैशाख १ गते शुक्रबार भएका कारण पनि सोही मितिमा आफ्नो चलचित्र प्रदर्शन गर्न निर्माताहरु मरिहत्ते गरिरहेका छन् । अब यी पाँच चलचित्रमाथी पनि सौता बनेर अरु चलचित्रले प्रदर्शन मिति तोक्छन् वा तोक्दैनन् त्यता तिर पनि अहिले चलचित्रकर्मीदेखी दर्शकहरुको ध्यान खिचिदै गएको छ ।