अर्को बर्षको जेठ १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिटलर’ को लिरिकल अडियो गीत सार्वजनिक भएको छ । ‘तिमी म:म खाँदै म चाउमिन बजाउँदै’ बोलको गीतमा लोचन घिमिरे र श्रेया सोताङको आवाज रहेको छ भने लोचनकै शब्द र संगीत छ । यो गीतको भिडियोको छायाँकन चाँडै हुने जानकारी दिँदै निर्देशक सौरभ ढकालले सार्वजनिक लिरिकल अडियो गीतलाई दर्शक, स्रोताले मन पराउनेमा विश्वस्त रहेको बताए । उनले अहिलेका यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर सार्वजनिक गीत तयार भएको पनि बताए ।
रोमान्टिक कमेडी कथामा तयार भएको चलचित्र ‘हिटलर’ को निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले सहकार्य गरेको छ । ए.आर पौडुवालले चलचित्र खिचेका हुन । लोचन घिमिरे चलचित्रका संगीतकार हुन् । किच्चामान चित्रकार चलचित्रका लेखक हुन् । चलचित्रमा कृष्ण के अच्छामीको कोरियोग्राफी रहेको छ । चिनिमाया मानन्धर निर्माता रहेको चलचित्रमा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहेका छन् । लोचन घिमिरे र सौरभ ढकाल चलचित्रको सह–निर्माता हुन् । चलचित्रमा सोहित मानन्धर, समिया बर्तौला, मेनुका प्रधान, अर्जुन गुरुङ, दिवश धिताल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।