केही बर्षदेखी अमेरिकामा बस्दै आएका नायक मुकेश ढकाल अभिनित नयाँ चलचित्र ‘परिणाम’ ले आफ्नो प्रदर्शन मिति फाइनल गरेको छ । छायाँकन सकिएको लामो समयपछि निर्माणपक्षले यो चलचित्रको प्रदर्शन मिति तय गरेको हो । अब यो चलचित्र माघ २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माणपक्षले चलचित्र ‘परिणाम’ को विषयमा जानकारी दिएको छ । मुकेश ढकाल, सारिका घिमिरे, झरना रिसाल, किसन सुनार, असिम शेर्पा, मुक्ति उपाध्यक्ष लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘परिणाम’ नारी प्रधान चलचित्र रहेको निर्देशक हरि पराजुलीले जानकारी दिए । उनले चलचित्र परिणाममा महिलाहरु कमजोर हुन्नन् भन्ने देखाउन खोजेको बताए । उनी चलचित्रका निर्माता समेत हुन । निर्देशक पराजुलीका अनुसार, चलचित्र ‘परिणाम’ को प्रचार प्रसारका लागि चाँडै नायक मुकेश ढकाल नेपाल आउने तयारीमा छन् । कार्यक्रममा उपस्थित नायिकाद्धय सारिका घिमिरे र झरना रिसालले चलचित्र परिणाममा महिलाले आफ्नो संवेदनशिलतालाई कहाँसम्म संयम बनाएर राख्न सक्छन् भन्ने देखाउन खोजेको बताए । नारायण घिमिरेको लेखन, माधव शर्माको पटकथा संवाद, एनवी महर्जन र कुमार महर्जनको द्धन्द्ध, कृष्ण बस्नेतको शब्द/संगीत, कमल राई र प्रिया पराजुलीको नृत्य, मनिषा पोख्रेल र नितिश शर्माको गायन, शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको चलचित्र परिणामको कार्यकारी निर्माता भने पदम निरौला हुन ।
तस्बिर : मिलन ढुंगाना