सुन्दर र भलाद्मी नायिकाको रुपमा चिनिने केकी अधिकारी अहिलेकी व्यस्त नायिका मध्येकी एक हुन । स्वर चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी नायिका केकी अधिकारी अभिनित चलचित्रहरु खासै सफल नभएपनि उनको अभिनयको भने चौतर्फी चर्चा हुने गर्छ । व्यबसायिक हिसाबले आफु अभिनित चलचित्रबाट सफलता चाख्न नपाएपनि अहिलेसम्म उनी फुर्सदमा बस्नु परेको भने छैन ।
उनै केकीको नयाँ चलचित्र ‘लभ साशा’ यही पुष २८ गते बिहिबारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा ‘साशा’ नामकी यूवतीको भूमिका निर्वाहा गरेकी केकीलाई ‘लभ साशा’ ले आफ्नो करियर माथी उठाउनेमा ढुक्क छिन् । अहिले यो चलचित्रको ट्रेलरबाट नै केकीको चौतर्फी प्रशंसा भइरहेको छ । उनले बोलेको चलचित्रमा समावेश ‘सुरुप्प’ संवाद अहिले चर्चामा छ ।
चलचित्रमा नायक कर्मा र केकीको लोभलाग्दो केमेष्ट्रि देख्न सकिने ट्रेलरबाटै नै थाहा हुन्छ । केकीलाई मात्र होइन नायक कर्माका लागि पनि चलचित्र ‘लभ साशा’ सफल भए धेरै राहत पुग्ने देखिन्छ । कर्मा नेपाली चलचित्रका चर्चित अनुहार भएपनि उनले जुन अनुसारको सफलता पाउनु पर्ने हो त्यो भने अहिलेसम्म हात पार्न सकेका छैनन् । जसकाकारण पनि ‘लभ सासा’ ले यी दुई कलाकारका लागि विशेष महत्व राख्छ । त्यसैले त अहिले उनीहरु यो चलचित्रको पव्लिसिटीमा दिलोज्यान दिएर लागिपरेका छन् ।
कर्मा, केकी अधिकारी, शिवानी चालिसे, विकास जोशी, रश्मी भट्ट र आसिफ शाहको मुख्य भूमिका रहेको चलचित्र ‘लभ साशा’ लाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् भने चलचित्रको कथा उनी आफैले लेखेका हुन । ‘साशा’ नामकी केकी र ‘पर्ल’ नामका कर्माको भगाईको यात्रालाई चलचित्रमा देखाइएको छ । पपकर्न पिक्चर्सद्धारा प्रस्तुत र प्रिन्सेस मुभिज र द.टि फोक्स फिल्मसको निर्माण रहेको चलचित्र ‘लभ साशा’ लाई माधव वाग्लेलले निर्माण गरेका हुन । चलचित्र ‘लभ साशा’ मित्रता, प्रेम, दया, स्नेह र जीवन दर्शनजस्ता विभिन्न भोगाईहरुको मिश्रण रहेको निर्माणपक्षले बताएको छ । शिवराम श्रेष्ठको छायाँकन रहेको चलचित्र लभ साशामा लोकेश बज्राचार्यको सम्पादन छ ।