हास्यकलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको निधन भएको छ । मंगलबार साँझ वीर अस्पतालमा उनको निधन भएको हो । के कारणले निधन भएको भन्ने खुल्न नसकेपनि नेपाल सांस्कृतिक संस्थान, जमलमा संस्कृतविद् सत्यमोहन जोशीद्धारा लिखित नाटक ‘महर्षि याज्ञवल्क्य’ मा अभिनय गर्दा गर्दै उनी बेहोस भएका थिए र उनलाई वीर अस्पताल लगिएको थियो । वीर अस्पताल पुराउँदा उनको निधन भइसकेको थियो । अहिले वीर अस्पतालमा हास्यकलाकार दीपाश्री निरौला र दीपकराज गिरी लगायतका कलाकारहरु पुगिसकेका छन् ।
लामो समयदेखी अभिनय, निर्देशन र लेखनमा सक्रिय विष्णुभक्त फुयाँलद्धारा लिखित वाध्यता, शहिदको सपना लगायतका आधा दर्जन बढी पुस्तकहरु पनि प्रकाशन छन् । हास्यकलाकार दीपकराज गिरी निर्देशित टेलिश्रृखला ‘तीतो सत्य’ मा ‘ओ माई लभ’ भन्दै बालबालिकादेखी पाका उमेरसम्मका दर्शकहरुको मन जितेका विष्णुभक्त फुयाँल झण्डै ४ दशकदेखी अभिनयक्षेत्रमा सक्रिय थिए । ५ सय भन्दा बढी नाटक, १ सयभन्दा बढी टेलिसिरियलसँगै दर्जनौं चलचित्रमा अभिनय गरिसकेका उनले ‘देवकी’ चलचित्रबाट ठूलो पर्दामा प्रवेश गरेका थिए । उनले ‘विधानको मृत्यु’ नामक छोटो चलचित्र पनि निर्देशन गरेका छन् ।