सुटिङका लागि पोखरा जाने क्रममा गाडी दुर्घटना भएपछि केही दिनका लागि रोकिएको ‘प्रेमगीत २’ को छायाँकन मंगलबारबाट राजधानीमा सुरु भएको छ । दुर्घटनामा निर्माता र निर्देशक घाईते भएका थिए त्यसपछि ‘प्रेमगीत २’ को छायाँकन रोकिएको थियो । निर्मातासँगै निर्देशकको स्वास्थ्य अबस्थामा सुधार आएपछि मंगलबारबाट चलचित्रको छायाँकन सुरु गरिएको हो ।
‘प्रेमगीत २ को बाँकी छायाँकनका लागि पोखरा जाने क्रममा केही दिन अगाडी मात्र हामी गाडी दुर्घटनामा पर्यौं । त्यसपछि उपचारका लागि काठमाडौंमा थियौं । अहिले हाम्रो स्वास्थ्य अबस्थामा पूर्णरुपमा सुधार आइसकेका कारण चलचित्र ‘प्रेमगीत २’ को छायाँकन हिजो मंगलबारबाट सुरु गरेका छौ ।’ निर्माता सन्तोष सेनले भने ।
चलचित्र ‘प्रेमगीत २’ को छायाँकन अहिले त्रिपुरेश्वरस्थित कर्मा लाउन्जबाट भइरहेको छ । ‘प्रेमगीत’ का नायक प्रदीप खड्का र नव-नायिका अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमगीत २’ को हाल सिच्वेसनल गीतको फिल्मांकन भइरहेको छ । अचम्म कुरा त यो छ कि अहिलेसम्म निर्माणपक्षले चलचित्रमा अर्की नायिका स्वस्तिमा खड्का पनि छिन् भन्ने जानकारी गराएको थिएन । तर, हाल छायाँकन भइरहेको चलचित्रको सिच्वेसनल गीतमा भने नायिका स्वस्तिमा नायक प्रदीप खड्कासँग रोमान्स गरिरहेकी छिन् भने चलचित्रकी लीड नायिका अश्लेषा ठकुरी पनि फिचरिङ छिन् । गीतमा स्वस्तिमाको भूमिका भने सस्पेन्स राखिएको निर्माता सेनले जानकारी दिए । खबरका अनुसार, चलचित्रको हाल छायाँकन भइरहेको गीतमा मात्र स्वस्तिमा रहनेछिन् । चार दिनसम्म चल्ने चलचित्रको सिच्वेसनल गीतको छायाँकन खर्च १८ लाखभन्दा माथी हुने निर्माता सन्तोष सेनले ‘सिनेखबर डटकम’लाई बताए । ‘स्कटिस थीममा हामीले गीत सुट गर्दैछौं । कथाको माग पनि यही हो’ नृत्य निर्देशक रिनशा राईले भनिन्, ‘वार्डरोव, डान्स र ब्याकड्रप फ्युजनमा मिहेनत गरेका छौं।’ निर्माता सेनका अनुसार, यो गीत खिचेपछि बाँकी छायाँकनका लागि पोखरा जाने तयारी भइरहेको छ ।
गएको बर्ष ग्लसी दृश्य, गीत, संगीत र कलाकारको अभिनयका कारण निकै चर्चामा थियो चलचित्र ‘प्रेमगीत’ । ‘प्रेमगीत’ सफलभएपछि निर्माणपक्षले यसको दोस्रो भाग स्वरुप चलचित्र ‘प्रेमगीत २’ निर्माण गर्न लागेको हो । नेपाल, थाइल्याण्ड, बर्मा लगायतका स्थानमा छायाँकन हुने चलचित्र ‘प्रेमगीत २’ लाई रामशरण पाठकले निर्देशन गर्दैछन् । यसअघि प्रेमगीतलाई सुदर्शन थापाले निर्देशन गरेका थिए ।
चलचित्रमा प्रदीप र अश्लेषाका अलवा भुवन चन्द, श्रद्धा प्रसाई, कैलाश कटुवाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य, सौरभ क्षेत्री लगायतका कलाकारको पनि अभिनय रहनेछ । चलचित्रमा अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन रहनेछ ।