हिजो मंगलबार नेपाल सांस्कृतिक संस्थान, जमलमा संस्कृतविद् सत्यमोहन जोशीद्धारा लिखित नाटक ‘महर्षि याज्ञवल्क्य’ मा अभिनय गर्दा गर्दै निधन भएका कलाकार तथा रंगकर्मी विष्णुभक्त फुँयालको पार्थिव शरीरमा वुधबार कलाकर्मीहरुले श्रदाञ्जली दिएका छन् । वुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजेदेखी २ बजेसम्म विष्णुभक्त फुँयालको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि राखिएको थियो । उनको पार्थिव शरीरमा माला तथा खादा ओढाएर कलाकर्मीले मात्र होइन देशका विभिन्न राजनीतिक दलका नेताहरुले पनि श्रदाञ्जली दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस नेता रामचन्द्र पौडल, सूचना तथा सञ्चारमन्त्री राम कार्की, नागरिक उड्डयान तथा संस्कृतिमन्त्री जीवनबहादुर शाही लगायतले कलाकार विष्णुभक्तको पार्थिव शरीरमा माला तथा खादा ओढाएर श्रदाञ्जली दिएका थिए भने हरिवंश आचार्य, सरोज खनाल, दिपकराज गिरी, दिपाश्री निरौला, सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’ सहित दर्जन बढी कलाकर्मी पनि श्रदाञ्जली सभामा सहभागी थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैछ ।
लामो समयदेखी अभिनय, निर्देशन र लेखनमा सक्रिय विष्णुभक्त फुयाँलद्धारा लिखित वाध्यता, शहिदको सपना लगायतका आधा दर्जन बढी पुस्तकहरु पनि प्रकाशिन छन् । हास्यकलाकार दीपकराज गिरी निर्देशित टेलिश्रृखला ‘तीतो सत्य’ मा ‘ओ माई लभ’ भन्दै बालबालिकादेखी पाका उमेरसम्मका दर्शकहरुको मन जितेका विष्णुभक्त फुयाँल झण्डै ५ दशकदेखी अभिनयक्षेत्रमा सक्रिय थिए । ५ सय भन्दा बढी नाटक, १ सयभन्दा बढी टेलिसिरियलसँगै दर्जनौं चलचित्रमा अभिनय गरिसकेका उनले ‘देवकी’ चलचित्रबाट ठूलो पर्दामा प्रवेश गरेका थिए ।