फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लुट २’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच निर्माणपक्षले चलचित्र ‘लुट २’ को ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा हाकु कालेले बैंक लुटेर धोका दिएपछि नरे, गोफ्ले, पाण्डे र खत्री लगायतले कसरी हाकु कालेलाई दुख दिन्छन् भन्ने देखाउन खोजिएको छ । ट्रेलरमा समाबेश घतलाग्दा संवादहरुले चलचित्र ‘लुट २’ लाई प्रतिक्षित बनाउनेमा दुई मत छैन । सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लुट २’ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको चलचित्र ‘लुट २’ २०६९ सालमा प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘लुट’ को दोस्रो भाग हो ।
चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक निश्चल बस्नेतले चलचित्र ‘लुट २’ फरकथावस्तुमा तयार पारेको बताए । उनले भने -‘४ बर्षपछि हामीले ‘लुट २’ तयार पारेका छौ । यो ‘लुट’ को सिक्वेल होइन । हामीले फरक कथावस्तुमा ‘लुट २’ तयार पारेर दर्शकमाझ ल्याएका छौ ।’
उनले अगाडी थप्दै भने -‘लुटमा धेरै अश्लिल संवादहरु थिए तर ‘लुट २’ मा हामीले त्यसलाई धेरै कम गरेका छौ । मैले ‘लुट २’ पारिवारिक चलचित्र बनाउने प्रयास गरेको छु ।’
उनका अनुसार, पछिल्लो समय जनताहरु मारमा परेको भूकम्प, नाकाबन्दी, अपराधका घटनाहरुलाई पनि चलचित्रले पर्दाफास गर्नेछ । कार्यक्रममा नायक सौगात मल्लले चलचित्र ‘लुट २’ लाई दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको बताए । उनले चलचित्र ‘लुट २’ मा ‘हाकु काले’ को भूमिका निर्वाहा गरेका छन् । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा सौगात बाहेक अरु कुनै पनि कलाकारहरु उपस्थित थिएनन् । पपकर्न पिक्चरद्धारा प्रस्तुत गरिएको र प्रिन्सेस मुभिज् र ब्ल्याक हर्स पिक्चरको निर्माणमा चलचित्र ‘लुट २’ तयार भएको हो । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बासकोटा, रोशन थापा, हर्कुलस बस्नेत र सुरज शाही ठकुरीको संगीत र राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको छ । ट्रेलर रिलिज कार्यक्रममा चलचित्र ‘लुट २’ मा समाबेश ‘ठमेल बजार’ बोलको गीतमा आइटम डान्स गरेकी एलिसा राईको जन्मदिनको अवसरमा निर्माणपक्षले केक समेत काटेको थियो ।