आज शुक्रबारबाट चलचित्र ‘भ्रम’ ले आफ्नो प्रदर्शन आरम्भ गरेको छ । सिंगल हल लक्षित कर्मा शाक्य अभिनित चलचित्र ‘भ्रम’ मा प्रेत आत्माले दिएको दुख देखाइएको छ । मल्टिप्लेक्समा आमिर खान अभिनित चलचित्र ‘दंगल’ ले दर्शक तानिरहँदा सिंगल हलमा कर्माको ‘भ्रम’ ले दर्शक हुल्न सक्ला वा नसक्ला त्यो भने आजबाट नै थाहा हुनेछ । नेपाली चलचित्रको पर्दामा परिचित नाम भएपनि कर्माले अहिलेसम्म सोचे जस्तो सफलता पाउन सकेका छैनन् । त्यसैले पनि कर्मालाई चलचित्र ‘भ्रम’ सफल भए धेरै राहत पुग्ने देखिन्छ । त्यसो त, कर्मा अभिनित अर्को चलचित्र ‘लभ साशा’ यही पुष २८ गते प्रदर्शनमा आउँदैछ । ‘भ्रम’ रिलिज भएको ५ दिनपछि रिलिज हुन लागेको चलचित्र ‘लभ साशा’ पनि कर्माका लागि त्यति नै प्रतिक्षित छ । चलचित्र ‘भ्रम’ मा भने भिन्तुना जोशीको आत्माले कर्मालाई कसरी दुख दिन्छ भन्ने देखाउन खोजिएको निर्माणपक्षले बताएको छ । चलचित्रका निर्माता श्याम ल्वागुना र सुरेश गमाल हुन् । कृष्ण श्रेष्ठले खिचेको चलचित्रमा कुमार महर्जनको द्वन्द्व छ भने संगीत रक्की धसुको छ । पटकथा तथा संवाद राधा श्रेष्ठ र श्याम श्रेष्ठको रहेको फिल्ममा कोरियोग्राफी गोविन्द प्रभातको छ । चलचित्रलाई रविन्द्र शाहीले निर्देशन गरेका हुन ।