चलचित्र ‘लभ साशा’ आज बिहिबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । ट्रेलर र गीतहरुले नै प्रतिक्षित बनेको चलचित्र ‘लभ साशा’ मा कर्मा र केकी अधिकारीको मुख्य भूमिका रहेको छ । असिफ शाहसँग विवाह गर्न अष्ट्रेलियाबाट नेपाल आएकी केकी र फोटो पत्रकारिता गर्दै आएका कर्माबीचको पोखरा यात्राबाट सुरु भएको चलचित्र ‘लभ साशा’ पूर्णतया लभस्टोरी कथामा तयार भएको छ । यो चलचित्रको प्रिमियर मंगलबार साँझ राजधानीको कुमारी हलमा गरिएको थियो । प्रिमियरमा चलचित्रका कलाकारदेखी पत्रकार, चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । चलचित्रमा केकी र कर्मा मुख्य भूमिकामा रहेपनि केही परिचित अनुहारहरुले पनि ‘लभ साशा’ मा केमियो गरेका छन् । झन्डै १ मिनेट त नायिका ऋचा शर्माले मात्र केमियो गरेकी छिन् । चलचित्रको सुरुवात नै ऋचा र कर्माबीचको प्रेम सम्बन्धबाट हुन्छ । त्यस्तै चलचित्रका केही दृश्यहरुमा ‘कर्णाली ब्जुल’ र ‘फिरफिरे’ लेखक बुद्धिसागर पनि देखिएका छन् । यतिसम्मकी केकी र कर्मालाई मिलाउनका लागि चलचित्रमा बुद्धिसागरको महत्वूर्ण भूमिका छ । साहित्य प्रेमी माझा पपुलर बुद्धिको पछिल्लो पुस्तक फिरफिरेलाई निर्माणपक्षले चलचित्रको पोस्टरमा समेत अटाएको थियो । चलचित्रको फस्टलुक पोष्टरमा नायिका केकी अघिकारीले ‘फिरफिरे’ पुस्तक बोकेको देख्न सकिन्छ । त्यस्तै चलचित्रमा निर्देशक निश्चल बस्नेत, बर्षा राउत, स्वस्तिमा खड्का, नायक संजोग कोइरालाले पनि केमियो गरेका छन् । प्रिमियरमा केमियो गरेका सबै कलाकारहरुको समेत उपस्थिती रहेको थियो । चलचित्र हेरेपछि लेखक बुद्धिसागरले चाहिँ ‘लभ साशा’ आफ्नो पहिलो र अन्तिम चलचित्र रहेको समेत बताए । प्रिमियरमै उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र ‘लभ साशा’ लाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन भने माधव वाग्लेले निर्माण गरेका हुन ।