हिजो बिहिबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘शब्द’ शुक्रबार अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुँदैछ । यसका लागि नेपालबाट नायिका कमली वाइवा र नायक सौगात मल्ल सिड्नी पुगिसकेका छन् । नायक मल्ल र वाइवालाई सिड्नीमा आयोजक संस्थाले भव्य स्वागत गरेको थियो । स्वागत कार्यक्रममा बोल्दै नायक सौगात मल्लले चलचित्र ‘शब्द’ पहिलो पटक शुक्रबार सिड्नीमा नेपाली दर्शकहरुसँग हेर्ने बताए । त्यस्तै, नायिका कमली वाइवाले प्रेम, संघर्ष र हाँस्यवंग्य मिश्रित चलचित्र सुन्दर रहेको बताइन् । चलचित्रका निर्माता मध्येका एक हङकङ निबासी विष्णु थेबे र द्वन्द्व निर्देशक उपेन्द्र खड्गी पनि बिहीबार अष्ट्रेलिया पुगिसकेका छन् । ‘शब्द’ चलचित्रको शुक्रबार हर्सभिलमा र शनिबार बरउडमा रेडकार्पेट प्रिमियर शो हुने भएको छ । उक्त चलचित्र मेलवर्न र ब्रिसवेनमा पनि प्रदर्शन गरिने भएको छ । सन्तोष शिवाकोटी निर्देशित चलचित्रमा सौगात र कमलीसँगै अनुभव रेग्मी, रोयदिप, ओशिन भट्टराई, ए गुरुङ लिड रोलमा छन् । चलचित्रमा विष्णुकुमार थेबे र छिरिङ लामाको लगानी छ ।