नायिका सारिका घिमिरेले दर्जन बढी नेपाली सिनेमामा काम गरिसकेकी छिन् । तर, अहिलेसम्म सारिकाले आफुलाई सफलताको सिढी चढाउने चलचित्र भेटेकी छैनन् । जुन चलचित्रमा सारिकाले काम गरिन् ति कुनै पनि चलचित्रहरुले व्यबसायिक सफलता हात पारेनन्, जसले गर्दा उनि नेपाली निर्माताहरुको रोजाईमा पनि खासै परेकी देखिन्न् । बुधवार ‘सिनेखबर डटकम’ सँगको एक भेटको क्रममा नायिका सारिका घिमिरेले अबका दिनहरुमा राम्रो कथावस्तु र राम्रो ब्यानर हेरेर मात्र काम गर्ने बताइन । ‘तपाईलाई बजारमा अनलक्की नायिका भनेर चिन्छन् नी ?’ भन्ने हाम्रो प्रश्नमा सारिकाले भनिन्, ‘यो कुरा मलाई थाहा छ । र, मलाई यस्तो भनेकोमा दुख पनि लाग्दैन । किनकी अहिलेसम्म मैले अभिनय गरेका चलचित्रहरुले व्यबसायिक सफलता हात पार्न सकेका छैनन् । तर समय कुर्दै छु कसो एकदिन न एकदिन त सफल नभइएला ?’
उनले माघ २१ गते प्रदर्शनमा आउन लागेको चलचित्र परिणामबाट भने ठूलो आश बोकेको बताइन । ‘झण्डै निर्माण भएको २ बर्षपछि चलचित्र परिणाम माघ २१ गतेबाट हलमा लाग्दैछ । मैले यो चलचित्रमा एक निडर यूवतीको भूमिका निर्वाहा गरेको छु । मलाई आश छ यो चलचित्रमा मैले निर्वाहा गरेको भूमिकालाई दर्शकहरुले रुचाइदिनु हुनेछ ।’, उनले भनिन् ।
उनले चलचित्र परिणाममा गल्ती गर्दा पनि नगर्नु र कसैसँग नडराउने यूवतीको भूमिका निर्वाहा गरेको पनि बताइन । हरि पराजुलीले निर्देशन गरेको यो चलचित्रमा सारिकाको अलवा मुकेश ढकाल, झरना रिसाल, किसन सुनार, असिम शेर्पा, मुक्ति उपाध्यक्ष लगायतका कलाकारहरुको अभिनय रहेको छ । नारायण घिमिरेको लेखन, माधव शर्माको पटकथा संवाद, एनवी महर्जन र कुमार महर्जनको द्धन्द्ध, कृष्ण बस्नेतको शब्द/संगीत, कमल राई र प्रिया पराजुलीको नृत्य, मनिषा पोख्रेल र नितिश शर्माको गायन, शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको चलचित्र परिणामको कार्यकारी निर्माता भने पदम निरौला हुन ।