मंगलबार मुम्बईमा बलीउड निर्देशक करण जौहरको बायोग्राफी किताब सार्वजनिक भयो। बिमोचन कार्यक्रममा शाहरुख खानदेखी बलीउडका चर्चित हस्तीहरुको उपस्थिती रहेको थियो । सेलिब्रेटीहरु बिच करणले शाहरुख खानसँगको सम्बन्ध र आफ्नो बुवा बन्ने इच्छा बारे खुलेर कुरा गरे।
आफ्नो बुबाको कामहरु बारे बुझ्न थालेको समय उनी पहिलो पटक शाहरुख खानलाई भेट्न गएको उनले सम्झिए। शाहरुख खानसँग फिल्म डुप्लिकेटको स्क्रिप्ट लिएर भेट्न गएको उनले बताएका थिए। उनले भने,’मेरो बुबाप्रति शाहरुखको सम्मान, आदर देखेर म छक्क परेको थिएँ। त्यसै बेला उसको व्यवहार देखेर म मा ऊ प्रति प्रेम जाग्यो।’
त्यस समयदेखि सुरु भएको करण र शाहरुखको सम्बन्धमा धेरै उताब चढाव आए। तर आफू बिचको समस्याहरु दुबै मिलेर सुल्झाए पनि। उनले शाहरुखसँगको सम्बन्ध बारे किताबमा पनि उल्लेख गरेको बताउँदै भने,’शाहरुख र मेरो डिप लभ छ। म यो सम्बन्धको सम्मान गर्छु। र यो सम्बन्ध कहिले पनि छुट्दैन।’
शाहरुखले पनि करणको कुरामा सहमती जनाउदै भने,’करण मलाई बुझ्ने मान्छे हो । म ऊ सँग कुरा गरेर घण्टौं बिताउन सक्छु ।’ उनले किताब बिमोचन कार्यक्रममा करणको जीवन र किताबको तारिफ गर्दै भने,’तिमीबाट कसैले केहि सिके पनि नसिके पनि तिम्रो अनुभवहरुबाट धेरै कुरा सिक्न सकिन्छ।’
करणले आफ्नो किताबमा बुबा बन्ने रहर लागेको पनि जनाएका छन्।