अहिलेको एकदमै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को नयाँ भिडियो रिलिज भएको छ। ‘जता जता पिरतीको बाटो’ बोलको गीतको भिडियो’कार्टुन्ज क्रु’सँगै पल शाह फिचारिङ छन्। गीतको भिडियोलाई ‘कार्टुन्ज क्रु’कै सरोज अधिकारीले निर्देशन गरेका छन्। भिडियोमा सरोज, आश्मा र सुविनको कोरियोग्राफी छ।
बसन्त सापकोटाको संगीत रहेको गीतमा दिनेश थपलियाको शब्द छ। गीतमा सरोज ओलीले स्वर दिएका छन्। संजय लामाले खिचेको उक्त भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। सार्वजनिक गीत गतबर्ष सार्वजनिक भएको पल शाह र धुर्मुस-सुन्तली अभिनित ‘तिमीलाई देखेपछि ‘आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा आएको हो।
‘कार्टुन्ज क्रु’का सरोज अधिकारीले यस भिडियोलाई आफ्नो कमब्याक भिडियो बताएका छन्। उनी भन्छन्, ‘हाम्रो भिडियोहरु पहिला धेरै नै रुचाइन्थ्यो भने कतिले एउटै स्टेपहरु भयो भनी प्रतिक्रियाहरु पनि आउथ्यो, ति सबै प्रतिक्रियाहरुलाई मध्यनजर गरेर हामीहरुले यो भिडियो बनाएका हौँ।’
यो भिडियोको लागि टिमले २०-२५ दिनसम्म मेहनत गरेको उनले बताए। ‘अहिलेसम्म बनेका भिडियो मध्ये हामीहरुलाई पनि सबैभन्दा मन परेको भिडियो हो यो’ सरोज भन्छन् ‘गीतको भिडियोले सबैतिरबाट राम्रो प्रतिक्रिया आउनेमा हामी आशावादी छौं।’