कोरोनाको त्रासका कारण नेपाल पूर्ण रुपमा लकडाउन छ। मानिसहरु घर भित्रै थुनिएका छन्। जसका कारण, सडकमा जनावरहरु भोकै छन्।
विश्वका धेरै सेलिब्रेटीहरुले यस विषयमा आवाज उठाइरहेका छन्। नेपाली अभिनेत्री वर्षा सिवाकोटीले कुकुरलाई खाना खुवाउँदै अरुलाई पनि जनावरलाई एक्लै नछाड्न अपिल गरेकी थिइन्।
यस्तैमा, नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले ‘आयंका फाउन्डेशन’ मार्फत सडक जनावरको लागि खाना खुवाउन नगद १ लाख सहयोग गरेका छन्। एनिमल नेपाल नामक संस्था मार्फत उनीहरुले यो नगद सहयोग गरेका हुन्।
जनावरलाई ‘एक कचौरा पानी, एक कचौरी खाना’को व्यवस्था यो संस्थाले गर्नेछ। आयंका जोडीले आफूहरुलाई जनावरको माया लागेको भन्दै उक्त सहयोग गरेको बताएका छन्। उनीहरुले अरुलाई पनि सहयोग गर्न अपिल गरेका छन्।
                                                                                               






