‘अग्नि परिक्षा’, ‘कान्छा’, ‘ठुली’ र ‘मुटु’ लगायतका चलचित्र निर्माण र निर्देशन गरिसकेका एभरेस्ट सुर्य बोहोरा अब समयको माग अनुसार दर्शकको मनमुटु छुने कथावस्तु, “परफेक्ट स्क्रिन प्ले” र हल उचाल्ने गीतहरु लिएर मात्र चलचित्र निर्माण र निर्देशनमा उत्रिने बताउँछन् । चाँडै नयाँ चलचित्र निर्माण र निर्देशन गर्ने तयारीमा रहेका निर्देशक बोहोरा अहिले अमेरिकामा छन् । ‘अग्नि परिक्षा’, ‘कान्छा’, ‘ठुली’ र ‘मुटु’ जस्ता ठूला पर्दाका चलचित्र र केही रंगमञ्च र सानो पर्दाका नाटक र टेलिफिल्महरु समेत निर्देशन गरिसकेका उनले समय र परिस्थितिले अमेरिका बस्नु परेको सुनाउँछन् ।
उनी भन्छन्, ‘अब सबैलाई उत्साह र उमङ भर्ने चलचित्र लिएर मात्र दर्शकमाझ आउँछु । आजको समय नेपाली सिनेमाको लागी सुनौलो युग हो । आजभोली नेपाली चलचित्रले नेपालबाटै १०/१२ करोडको व्यापार गर्न थालिसकेका छन् भने अर्कोतिर नेपाली सिनेमाहरुले विश्व सिनेमा बजारको ढोकामा उभिन सफल हुँदै आइरहेका छन् ।’ निर्देशक बोहोराले निर्देशन गरेको चलचित्र ‘ठुली’ बर्ष २०७१ मा रिलिज भएको थियो । यो चलचित्रको ‘म त मर्छु कि क्या हो ठुली’ बोलको गीत निकै चर्चित भएको थियो । यसपछि उनले निर्देशन गरेका चलचित्रहरु दर्शकहरुले हेर्न पाएका छैनन् ।