पेरिस(एजेन्सी) । फ्रान्सको पेरिसमा भइरहेको कान्स फिल्म फेस्टिभल हालका दिनमा चर्चामा छ । यो फेस्टिभलमा विश्वभरका फिल्मी हस्तीहरुले सहभागिता जनाइरहेका छन् । फेस्टिभलको रेडकार्पेटमा उपस्थित सेलिब्रेटीहरुको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहँदा शुक्रबार भने त्यहाँ फरक दृश्य देखियो । जुन तस्वीरले सबै चकित भए ।
फेस्टिभलको रेड कार्पेटमा एक महिला अर्धनग्न अवस्थामा पुगेकी थिइन् । उनी युक्रेनमा रुसी सेनाले गरेको महिलामाथिको यौन हिंसाको विरोध गर्दै त्यहाँ पुगेकी थिइन् ।
पेन्टीमात्र लगाएर रेडकार्पेटमा उपस्थित भएकी ती महिलाले छातीमा ‘हामीलाई बलात्कार गर्न बन्द गर्नु’ भन्ने नारा लेखेकी थिइन् । उनको कम्मर मुनिको भाग रातो रंगले पोतिएको थियो । उनलाई तुरुन्तै सुरक्षाकर्मीले कालो कोटले छोपेर त्यहाँबाट निकालेका थिए ।
जर्ज मिलरको फिलम ‘थ्री थाउसेण्ड इयर्स अफ लगिङ’को प्रिमियरको समयमा यो घटना भएको थियो । फिल्ममा इदरिस एल्ब र टिल्ड स्विन्टन प्रमुख भूमिकामा छन् । फिल्मका निर्देशक तथा कलाकार रेड कार्पेटमा हिँडिरहँदा ती अर्धनग्न महिला उपस्थित भएकी थिइन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ रुसी सेनाले युक्रेनी महिलालाई बलात्कार गरिरहेको खबर सार्वजनिक भइरहेका छन् ।