कुनै समयकी सफल अभिनेत्री हुन् सञ्चिता लुइँटेल । एकसमय उनलाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरुको लाइन ठूलै हुन्थ्यो । उनी निर्माताहरुको रोजाईमा पर्न कम भइनन् तर केही बर्ष अगाडी नायक निखिल उप्रेतीसँग विवाह गरेपछि भने उनी झण्डै ५ बर्ष कुनै पनि नेपाली चलचित्रमा देखिइनन् ।
यतिसम्मकी उनले दुई सन्तानलाई जन्मदिएपछि मात्र नेपाली चलचित्रमा देखिइनन् । विवाह गरेपछि उनले ‘नाइँ नभन्नू ल ३’ मा अभिनय गरिन् । यो चलचित्र सफल भयो तर सञ्चिताले सफलताको स्वाद चाख्न पाइनन् । ‘नाइँ नभन्नू ल ३’ मा छोटो भुमिका भएका कारण दर्शकहरुले सञ्चिताको तारिफ गर्न सकेनन् । त्यसपछि उनले ‘आरोप’, ‘शिवा’, ‘राधा’ र ‘गुनगुन’ मा काम गरिन् ।
यि चलचित्र प्रदर्शनमा आउन बाँकी नै छन् । उनले ‘राधा’लाई भने आफ्नो सुपरहिट चलचित्र ‘छोडी गए पाप लाग्ला’सँग तुलना गरेकी छिन् । चलचित्र ‘राधा’ यस बर्षको तीजमा प्रदर्शनमा आउँदैछ । यो चलचित्रबाट सञ्चितालाई निकै ठूलो आश छ । अभिनेता निखिल उप्रेतीसँग वैवाहिक सम्बन्धमा गाँसिएपछि सार्वजनिक कार्यक्रममा देखा नपरेकी सञ्चिता लुइँटेल अहिले भने छाउन थालेकी छिन्। दुई बच्चाकी आमा सञ्चिताको शरीर केही समयअघिसम्म अस्वाभाविक भद्दा थियो। अहिले भने उनले शरीरलाई निकै घटाएकी छिन्। उनले नयाँ फिल्ममा काम गर्नका लागि पनि शरीरलाई मेन्टेन गरिरहेको बताएकी छिन् । यसका लागि उनले जिमक्लब पनि धाएकी थिइन । ५७ सालमा रमेश बुढाथोकीको निर्देशनमा डा.भोला रिजालले निर्माण गरेको ‘अप्सरा’ बाट नेपाली चलचित्रक्षेत्रमा डेव्यू गरेकी सञ्चिताले त्यसपछि थुप्रै नेपाली चलचित्रमा काम गरिन ।