गत शनिबार पोखरामा उद्घाटन भएको नेपाली कांग्रेसको युवा भ्रातृ संगठन नेपाल तरुण दलको पदाधिकारीमा नेपाली चलचित्रका नायक तथा जननायक वीपी कोइरालाका नाति सिद्धार्थ कोइराला नपर्ने भएका छन् । सिद्धार्थ कोइरालालाई उपसभापति बनाउन पौडेल पक्ष जोडतोडका साथ लागेको थियो तर देउवाले भागबण्डाको आधारमा पदाधिकारी चयन गर्दा सिद्धार्थ तरुण दलको पदाधिकारीमा नपरेका हुन् । सिद्धार्थ कांग्रेसको १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा राजनीतिमा आएका थिए । सुनसरीबाट महाधिवेशन प्रतिनिधि बनेका उनी तरुण दलको पदाधिकारीका दाबेदार थिए । उनलाई उपसभापति बनाउन कांग्रेस सभापति देउवा सकारात्मक पनि थिए ।
तर, सिटौला समूहलाई मिलाउँदा पदाधिकारी नबढाउने र महासचिव पौडेल समूहमा परेपछि उनी पदाधिकारीमा नपरेको स्रोतले बतायो ।
नेपाल तरुण दलको अध्यक्षमा भने जितजंग बस्नेत चयन भएका छन्। तरुण दलको महाधिवेशनमा नेताहरुले चुनावी प्रक्रियामा नजाने सहमति गरेपछि सर्वसम्मतिबाट नेतृत्व चयन भएको हो। जितजंगसँगै महासचविमा भूपेन्द्रजंग शाही चयन भएका छन्। उपाध्यक्षमा उत्तम चापागाईं र कोषाध्यक्षमा विद्वान गुरुङ चयन भए।
भागबण्डाका आधारमा पदाधिकारी चयन भए पनि केन्द्रीय सदस्यहरु भने मनोनीत नगरी नेताहरु काठमाडौं फर्कने भएका छन्। प्राप्त खबर अनुसार, सिद्धार्थलाई नेपाल तरुण दलको केन्द्रिय सदस्यमा भने मनोनीत गर्ने पक्का भइसकेको छ । नेपाली काँग्रेसका संस्थापक वीपीको नातिपुस्ताले राजनीतिमा त्यति चाँसो नदिइरहेका बेलामा सिद्धार्थले तरुण दलको नेतृत्व सम्हाल्ने आकांक्षा देखाउँदा उनलाई काँग्रेसको मुलधारको राजनीतिमा प्रवेश गराउन कोइराला परिवार सक्रिय देखिएको थियो तर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भागबण्डाको आधारमा पदाधिकारी चयन गर्दा सिद्धार्थ तरुण दलको कुनै पनि महत्वपूर्ण पदमा अटाएनन् । तरुण दलको महाधिवेशनमा सिद्धार्थलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री तथा सिद्धार्थका काका डा. सशांक कोइरालाले समर्थन गरेका थिए । वीपीपुत्र प्रकाश कोइरालाका छोरा सिद्धार्थ चलचित्र अभिनेता समेत हुन् । उनले नेपाल र भारतमा केही चलचित्रमा अभियन गरेका छन्। सिद्धार्थले केही बर्ष अगाडी मात्र नायिका नम्रता श्रेष्ठको प्रेमी बनेर नेपाली चलचित्र ‘मेघा’ मा काम गरेका थिए । चलचित्रले ब्यबसायिक सफलता हात नपारे पनि उनको अभिनयलाई दर्शकहरुले निकै रुचाएका थिए । उनी नेपाली मुलकी बलिउड नायिका मनिषा कोइरालाका भाइ हुन्।