गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत’ विशेषत गीतकै कारण पनि सफल भएको मान्नेहरु धेरै छन् । चलचित्रमा समाबेश ‘म यस्तो गीत गाउँछु’ र ‘म त अलपत्र पर्छु’ बोलको गीतले अहिले पनि नेपाली बजार पिटिरहेको छ । चलचित्रले दर्शकहरुबाट सुखद प्रतिक्रिया बटुलेपनि निर्माणपक्ष भने विभिन्न कारणले लफडाको जालझेलमा पर्दै आइरहेको छ । केही महिना देखी ‘प्रेमगीत’ नायिका पुजा शर्मा र सोही चलचित्रका निर्देशक सुदर्शन थापासँग प्रेमगीतका निर्माता सन्तोष सेनको पानीबाराबारको खबरले अहिले पनि नेपाली मिडियाहरु तात्ने गरेका छन् । विस्तारै यो घटना सेलाउँदै गर्दा फेरी सोही निर्माणपक्षको एउटा लफडाको खबर बाहिर आएको छ । चलचित्र ‘प्रेमगीत २’ का निर्माता सन्तोष सेन र संगीतकार अर्जुन पोखरेलबीचको सम्बन्ध अहिले पानीबाराबारकै अबस्थामा पुगिसकेको छ । कारण हो, एकअर्कालाई बानी र काम मन नपर्नु ।
लफडा हुनुको मुख्य कारण चाहिँ सन्तोष सेनले चलचित्र ‘प्रेमगीत २’ का लागी २ गीत तयार पर्न दिएका थिए । त्यही अनुसार संगीतकार अर्जुन पोखरेलले २ गीत तयार पनि पारे । तर, अर्जुनले जुन २ गीत तयार पारेका थिए त्यो निर्माता सन्तोष सेनलाई मन परेन । खबरका अनुसार, संगीतकार अर्जुन पोखरेललाई दिएको समयअवधीमा गीतको काम पुरा हुन नसकेका कारण सन्तोष सेनले हात झिकेका हुन । तर, यस विषयमा मिडियाहरुसँग खासै कुरा गर्न चाहेका छैनन अर्जुन ।
मिडियाहरुमा निर्माता सन्तोष सेनले दिएको जानकारी अनुसार, समयसीमामा ‘प्रेमगीत २’ को गीत तयार नभएपछि अरु संगीतकार खोज्छु भन्दा अर्जुन मानेनन् । त्यसपछि सन्तोषले अर्जुनलाई बाई-बाई गरेको बुझिएको छ । तर, अर्जुनले भने चलचित्रका लागि २ गीत तयार पारिसकेका थिए र अरुलाई सुनाउँदा उत्कृष्ट प्रतिक्रिया पनि दिएको खबर छ । संगीतकार पोखरेल र सेनबीच कतिसम्म मनमुटाब भएको रहेछ भन्ने कुराको पुष्टी निर्माता सन्तोष सेनले फेसबुकमा पोष्ट गरेको एक स्टाटसबाट नै थाहा हुन्छ । उनले लेखेका छन्, ‘हजुरको सृजनाको म कदर गर्दछु । आशा थियो हजुरले पनि मेरो सोचार्इको कदर गर्नुहुन्छ । यसकाराण मेरो मुभिमा मैले केही सोचेको हुन्छु भने हजुरको समर्थन हुनु जरूरी थियो । आफ्नो सृजना अरुले मन पराइदिओस भन्ने सोच्ने हजुरले अरूको सृजना पनि मेरो चलचित्रमा हुँदा राम्रो हुन्छ भन्ने सोच्नुहुन्छ जस्तो लागेको थियो । कथालाई अति उपयुक्त हुँदा हामीले अरू कसैको सृजना पनि चलचित्रमा समावेश गर्नु राम्रो कुरा होईन र ?’
आखिर वास्तविक सत्यता के थियो त्यो भने उनीहरुलाई नै थाहा होला तर शुटिङ नहुँदै ‘प्रेमगीत २’ यसरी लफडा पर्दा दर्शकहरुमाझ राम्रो सन्देश भने जादैन ।
चलचित्र ‘प्रेमगीत’ का गीतहरुमा अर्जुनले भरेको संगीतको चर्चा अहिले पनि व्यापक छ । ‘प्रेमगीत’ का गीतहरुकै कारण संगीतकार अर्जुन र चलचित्रले हाईप लिएको थियो । ‘प्रेमगीत’ का लक्की संगीतकार चुकाउँदा अब ‘प्रेमगीत २’ लाई गाह्रो पर्ला वा नपर्ला त्यो भने भोलीको दिनमा नै थाहा हुने छ ।
आगामी सोमबारबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्र ‘प्रेमगीत २’ लाई रामशरण पाठकले निर्देशन गर्दैछन् भने ‘प्रेमगीत’ नायक प्रदीप खड्का र नव-नायिका अश्लेषा ठकुरीको मुख्य भुमिका रहनेछ ।