भारतको जयपुरमा भइरहेको साहित्य महोत्सवमा सहभागी बलिउड अभिनेता ऋषि कपुरले आफ्नो फिल्मी यात्रामा केवल हिरोइनहरुसँग नाच्ने बाहेक केही काम नगरेको बताएका छन्। उनी हालै सार्वजनिक भएको आफ्नो विवादित जीवनी खुल्लमखुल्लाको प्रमोशन गर्न सम्मेलनमा पहिलो पटक सहभागी भएका हुन्।
कार्यक्रममा उनले आफ्नो ४४ वर्ष लामो फिल्मीयात्रा सम्झँदै भने, ‘स्विटजरल्यान्डमा राम्री हिरोइनसँग गीत गाउने बाहेक केही गरिएन। अहिले पो पहिलोपटक मलाई अभिनयको मौका मिलिरहेको छ।’ सकारात्मक, नकारात्मक त कहिले ९० वर्षको व्यक्तिको भूमिकाका लागि आफूले अभिनय गरिरहेको कपुरले बताए।
२० वर्षकै उमेरमा बाँबी फिल्मको सफलताले उनको दिमाग घुमेको थियो। सो फिल्मको सफलतासँगै उनी चर्चाको शिखरमा पुगे। तर त्यो लामो समय रहेन। उनको असफतलाको यात्रा सुरु भइहाल्यो। उनले कार्यक्रममा आफ्नो छोरा रणवीर कपुर सक्रिय रहेकै बेलामा आफू समेत फिल्मी क्षेत्रमा काम गर्न पाउँदा खुसी लागेको बताएका थिए। कार्यक्रममा उनले बलिउडमा रहेको परिवारवादबारे पनि बोलेका थिए।