माघ २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘परिणाम’ को प्रचार प्रसारलाई यति बेला निर्माणपक्षले आक्रामक बनाइरहेको छ । चलचित्रका नायक मुकेश ढकाल अमेरिकामा भएपनि दुई नायिका सारिका घिमिरे र झरना रिसालले भने चलचित्रको प्रमोशनमा दौडिन कुनै कसर बाँकी राखेका छैनन् । हरि पराजुलीले निर्देशन गरेको यो चलचित्रमा सारिका, मुकेश र झरनाका अलवा किसन सुनार, असिम शेर्पा, मुक्ति उपाध्यक्ष लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
शुक्रबार ‘सिनेखबर डटकम’ सँगको एक भेटको क्रममा निर्देशक हरि पराजुली र नायिका झरना रिसालले चलचित्र ‘परिणाम’ दर्शकहरुले किन हेर्ने ? भन्ने विषयमा आफ्नो धारणा राखे । नायिका झरना रिसालले चलचित्र ‘परिणाम’ मा नारी प्रधान चलचित्र रहेको बताउँदै चलचित्रमा आफुले सोझी यूवतीको भूमिका निर्वाह गरेको बताइन । उनले भनिन्, ‘एक पटक नारीले हेर्नु पर्ने चलचित्र हो परिणाम ।’
उनले त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र ‘परिणाम’ मा आफुले नायक मुकेश ढकालसँग रोमान्स नगरेको पनि बताइन । ‘ट्रेलर हेर्दा चलचित्रमा तपाईले नायक मुकेश ढकालसँग रोमान्स गर्नु भएको अनुमान लगाउन सकिन्छ नी ?’ भन्ने हाम्रो प्रश्नको उत्तर दिँदै झरनाले अगाडी थपिन्, ‘चलचित्रमा मेरो रोमान्स मुकेश ढकालसँग छैन । एक गीतमा मात्र त्यस्तो देख्न पाउनु हुनेछ ।’
त्यस्तै चलचित्रका निर्देशक हरि पराजुलीले चलचित्र ‘परिणाम’ सबै बर्गका दर्शकहरुका लागि हेर्न लायकको बनेको बताए । उनले भने, ‘पछिल्लो जसरी नेपाली चलचित्रहरु निर्माण भइरहेका छन् त्यो भन्दा केहि फरक छ चलचित्र परिणाम । नारीहरु कतिसम्म सहनशिल हुन्छन् र अन्यायको विरुद्ध आवाज उठाउनु पर्यो भने के सम्म गर्न सक्छन् भन्ने कुरा चलचित्र परिणामले देखाउँछ । हामीले चलचित्रमा पुलिस प्रशासनदेखी बीचमा नेपालको पश्चिममा घटेको प्रहरी र जनताबीचको मुटभेडलाई समेत देखाउन खोजेका छौं ।’ उनले चलचित्र ‘परिणाम’ प्रेम, रोमान्स, द्धन्द्ध सबै स्वादले भरिएको पनि बताए ।
नारायण घिमिरेको लेखन, माधव शर्माको पटकथा संवाद, एनवी महर्जन र कुमार महर्जनको द्धन्द्ध, कृष्ण बस्नेतको शब्द/संगीत, कमल राई र प्रिया पराजुलीको नृत्य, मनिषा पोख्रेल र नितिश शर्माको गायन, शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको चलचित्र परिणामको कार्यकारी निर्माता भने पदम निरौला हुन ।