चलचित्र रिलिजको पूर्वसन्ध्यामा शाहरुख खानको ‘रईस’ ले ऋतिक रोशनको ‘काबिल’ लाई टक्कर दिने बताइएको थियो । तर, यी दुई चलचित्र एकैदिन रिलिज भएपछि दर्शकको प्रतिक्रिया भने पूर्वानुमानित भन्दा ठ्याक्कै उल्टो आउन थालेको छ । दर्शकहरुले ऋतिकको काबिलको तारिफ गरेका छन् भने रईसको खिल्लि उडाउन थालेका छन् ।
बक्स अफिसमा ऋतिक रोशनमाथी शाहरुख खान हम्मे–हम्मे परेको छ । काबिलको दोस्रो दिनको कमाई पहिलो दिनको भन्दा ८० प्रतिशतले वृद्धि भएको छ भने शाहरुखको रईसको कमाई भने २८ प्रतिशतले मात्र बढेको छ । यो कमाई हेर्दा पहिलो दिनको भन्दा काबिलको कमाई दोस्रो दिन ५२ प्रतिशतले बढी हो । काबिलले पहिलो दिन १० करोड कमाएको थियो भने दोस्रो दिन १८.७ करोड कमाएको छ ।
त्यस्तै शाहरुखको रईसले पहिलो दिन २०.५ करोड कमाई गरेको थियो भने दोस्रो दिन २६.३ करोड कमाएको छ । व्यापारको यो आंकडा हेर्दा तेस्रो दिनसम्म आइपुग्दा दुवै चलचित्रको कमाई ५० करोड पुग्ने देखिएको छ ।
काबिलको आक्रमक कमाई हेर्दा यसले छिट्टै रईसलाई पछि पार्ने अनुमान चलचित्र समिक्षकहरुले लगाउन थालेका छन् ।