लाखौं रुपैयाँ खर्च गरेर एउटा चलचित्र निर्माण हुन्छ । चलचित्रको छायाँकन सकेर हलसम्म आउन एउटा चलचित्रलाई केही नभएपनि ३ महिनाको समय लाग्छ । लामो समयपछि एउटा चलचित्र हलमा प्रदर्शन हुन्छ तर केही बर्षको नेपाली चलचित्रको विजनेश हेर्ने हो भने धेरै निर्माताले चलचित्रमा खन्याएको आधा लगानी पनि उठाउन मश्किल परिरहेको छ । त्यसैले होला पछिल्लो समय चलचित्रको पव्लिसिटीमा चलचित्रका निर्माताहरुले विज्ञापन दाता खोजिरहेका हुन्छन् । चलचित्रको पोष्टरमा नाम चलेका देखी भर्खरै बजारमा आएका ब्राण्डहरुको विज्ञापन राखेर पव्लिसिटीको खर्च उठाउने धाउन्नमा नेपाली निर्माताहरुले चलचित्रको पोष्टर पनि निकै अनौठो शैलीमा तयार पार्दै आइरहेका छन् । केही बर्षदेखी नेपाली चलचित्रको पोष्टर हेर्ने हो भने चलचित्रको प्रचार भन्दा पनि कुनै ब्राण्डको प्रचार गरेको देख्न सकिन्छ । खासमा चलचित्रको पोष्टरमा कलाकारहरु मात्र अटाउनु पर्ने हो तर चलचित्रका कलाकारहरुको टाउको सानो बनाएर अहिले निर्माताहरुले कुनै एक ब्राण्डको विज्ञापनले नै पुरै पोष्टर ढाकिदिएका हुन्छन् । कलाकारको अनुहार भन्दा पनि अहिले चलचित्रका पोष्टरहरुको आधा भाग त लाम—लामा विज्ञापनले नै खाइदिएको हुन्छ । पैसा कमाउने धाउन्नमा पछिल्लो समय नेपाली निर्माताहरुले गरेको यो हत्कण्डले दर्शकहरु नै वाक्कदिक्क भइसकेका छन् । यस्तै हुँदै जाने हो भने दर्शकहरु नै चलचित्रको नाम भन्दा पनि विज्ञापनको नामका कारण हलसम्म जाने स्थिती एकदिन सृजना नहोला भन्न सकिन्न ।
पोष्टरमा चलचित्रका कलाकारहरुलाई कलात्मक शैलीमा देखाएर दर्शक लोभ्याउने हुनु पर्छ तर अहिले कलाकारको भन्दा पनि कुनै एक ब्राण्डको विज्ञापनलाई आर्कषक बनाएर दर्शक लोभ्याउने खेती गरिरहेका छन् नेपाली निर्माताहरु । अहिलेको अबस्था हेर्ने हो भने एकदिन चलचित्रको नाम नै छोपेर पुरै पोष्टरमा विज्ञापनलाई ठाउँ दिने अबस्था नआउँला भन्न सकिन्न । यतिसम्मकी नेपाली निर्माताहरुले स्वास्थ्यलाई हानी हुने माधक पदार्थको विज्ञापन हाल्न पनि पछि पर्दैनन् । माधक पदार्थका विज्ञापन कलाकारको भन्दा ठूलो र आर्कषक बनाएर राखिएको हुन्छ । चलचित्रको पोष्टरमा माधक पदार्थका विज्ञापनले नेपाली समाजलाई कस्तो असर गर्छ भन्ने सायद त्यो पैसा कमाउने धाउन्नमा नेपाली निर्माताहरुले विर्सिदै गएका छन् । हाम्रो भन्नु यति हो पोष्टरमा विज्ञापनलाई होइन कलाकारलाई ठाउँ दिएर पव्लिसिटी गर्नुहोस्, जसले गर्दा दर्शकहरुले भोली तपाईहरुलाई सम्मान गर्नेछन् ।