भारतको सबैभन्दा महँगो राशी रहेको ‘झलक दिखला जा’ सिजन ९ को विजेता बनेकी नेपालकी तेरिया मगर शुक्रबार साँझ आइपुगेकी छिन् । आफूलाई अनलाइनन भोटिङ गरेर जिताउन सहयोग गर्ने नेपालीहरुलाई धन्यवाद दिनका लागि नेपाल आएकी तेरियाले शनिबार रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो विचार राख्दै आफुलाई ‘डिआईडी’ र ‘झलक दिखला जा’ को उपाधि जित्नका लागि सहयोग गर्ने सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिइन । पत्रकारहरुसँग दोहोरो गफ नगरेकी तेरियाले ‘डिआईडी’ र ‘झलक’ को ट्रफी जितेपछि आफु घरमै थन्किएर बस्न नचाहने बताइन । उनले भनिन्, ‘मैले धेरै कुराहरु सिक्नु छ र धेरै कुराहरु प्राप्त गर्न बाँकी छ । यस्तो होइन कि नेपालमा पनि डान्सको सम्भावना छैन भनेर, नेपालमा पनि राम्रो अवसर छ । मेरो मुख्य उद्येश्य भने चाहिँ नेपालमा बसेर मैले प्रतिभा देखाए भने मलाई तेरिया भनेर मात्र चिन्छन् तर मैले नेपाल भन्दा बाहिर बसेर प्रतिभा देखाए भने मलाई नेपालकी तेरिया भनेर चिन्नेछन् र म ‘नेपालकी तेरिया ‘ भनेर चिनिन् चाहन्छु ।’
उनले अगाडी भनिन्, ‘मेरो चाहना यो मात्र छ कि नेपालको नाम विश्वमा चिनाउने । र, मैले मेरो तर्फबाट सय प्रतिशत दिने प्रयास गर्नेछु ।’ तेरियाले ‘झलक’ को ट्रफीसँगै ३० लाख भारतीय रुपैयाँ र एक कार प्राप्त गरेकी छिन् । परिक्षा नजिक भएका कारण केही दिन मात्र नेपाल बस्ने तयारीमा रहेकी तेरिया आज नै आफ्नो गृहजिल्ला रुपन्देही जानेछिन् । रुपन्देहीमा पनि उनलाई स्वागतको तयारी भइरहेको तेरियाका हजुरबुवा कृष्णबहादुर फौजामगर बताए ।