२०६९ सालमा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘लुट’ को दोस्रो भाग अर्थात ‘लुट २’ फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । छायाँकन अगावैदेखी प्रतिक्षित बनेको चलचित्र ‘लुट २’ को आइतबार सेन्सर भएको छ र चलचित्रले ‘पिजी सर्टिफिकेट’ पाएको छ । तपाईहरुलाई बताइदिउँ कि चलचित्रका निर्देशक निश्चल बस्नेतले चलचित्र ‘लुट २’ को ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका कुनै दृश्य र संवादमाथी सेन्सर बोर्डले कैची चलाए सर्वोच्च अदालतसम्म पुग्ने अभिव्यक्ति दिएका थिए । तर, आइतबार सेन्सर बोर्डका पदाधिकारीहरुले चलचित्र ‘लुट २’ हेरेपछि दोहोरो अर्थ लाग्ने र केही अश्लिल संवादहरुमा कैची चलाउँदै ‘पिजी सर्टिफिकेट’ दिएका छन् । अब यो चलचित्र हेर्न वालवालिकाहरुले अभिभावक साथमा दिएर जानु पर्नेछ ।
सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लुट २’ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको चलचित्र ‘लुट २’ मा पुरुषोत्तम प्रधानको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बासकोटा, रोशन थापा, हर्कुलस बस्नेत र सुरज शाही ठकुरीको संगीत र राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको छ ।
निर्माणपक्षका अनुसार, हाकु कालेले बैंक लुटेर धोका दिएपछि नरे, गोफ्ले, पाण्डे र खत्री लगायतले कसरी हाकु कालेलाई दुख दिन्छन् भन्ने चलचित्र ‘लुट २’ मा देखाउन खोजिएको छ ।