यही माघ २८ गतेबाट भ्यालेन्टाइन डेलाई लक्षित गर्दै नायक जीवन लुइँटेल र नायिका नीता ढुंगाना अभिनित चलचित्र ‘लेक साइड’ प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रचारमा कलाकार नै नउत्रिएको भन्ने आरोप खेप्दै आएको निर्माण पक्षले सोमबार भने राजधानीमा पत्रकारहरुसँग नायक जीवन लुइँटेलको भेटघाट गरायो । तर, नायिका नीता ढुंगाना अनुपस्थित पत्रकार भेटघाटमा जीवनले मात्र मिडियाहरुसँग चलचित्र ‘लेक साइड’ को विषयमा आफ्नो विचार राखे । ‘किन नीता अनुपस्थित ?’ भन्ने ‘सिनेखबर डटकम’ को प्रश्नमा निर्देशक राजु अधिकारीले भने, ‘मैले र चलचित्रका निर्माता चन्द्र ज्योति ढुंगानाले पनि धेरै पटक उहाँलाई फोनमा सम्र्पक गर्न खोज्यौ तर उहाँले फोन नै उठाउनु भएको छैन । जुन नम्बरमा उहाँलाई शुटिङको क्रममा फोन लाग्थ्यो अहिले त्यो फोन अर्कैले उठाउनु हुन्छ । त्यो फोन अहिले इण्डियन टोनमा एक व्यक्तिले उठाउनु हुन्छ तर नीता जीले फोन उठाउनु हुन्न । उहाँ आफ्नो जिम्मेवारीताबाट भाग्दै हुनुहुन्छ । हुनत यो घट्ना मेरो लागि पहिलो पटक होइन । यसअघि चलचित्र ‘सुब्बा साब’ मा पनि नायिकाहरुले यस्तै गर्नु भएको थियो । कलाकारले चलचित्रमा काम गर्नु मात्र जिम्मेवारीता होइन चलचित्रको पव्लिसिटीमा हिँड्नु पनि उतिक्कै आबश्यक हुन्छ ।’
यस्तै नायक जीवन लुइँटेल भने चलचित्र ‘लेक साइड’ को प्रचारमा कलाकार नै नभएपछि दुई दिन अगाडी मात्र अमेरिकाबाट नेपाल आएका छन् । ‘तपाईले यसअघि गर्नु भएका चलचित्र भन्दा ‘लेक साइड’ के कुरामा फरक छ ?’ भन्ने ‘सिनेखबर डटकम’ को प्रश्नमा जीवनले आफुले अभिनय गरेका प्राय सबै चलचित्रको फर्मुला एउटै भएको बताए । उनले भने, ‘चलचित्र लेक साइड एउटा कर्मशियल सिनेमा हो । गीत, संगीत यसमा पनि उतिक्कै राम्रो छ । लभ, ड्रामा, रोमान्स भरपुर छ । यो हुँदा हुँदै पनि यो चलचित्रले एउटा पर्यटकिय ठाउँलाई समातेको छ । पोखराको पर्यटकिय स्थल लेक साइडमा संघर्ष गरेको एउटा यूवाको कथा छ चलचित्रमा । चलचित्र एउटा सिम्पल लभ, रोमान्ससँग सम्बन्धित छ ।’
राजु अधिकारीको निर्देशनमा बनेको यो चलचित्र आशुतोस फिल्म्स प्रोडक्सन प्रा.ली. र चन्द्रज्योती फिल्म्सको ब्यानरमा तयार भएको हो । ‘लेक साइड’ चलचित्रलाई चन्द्रज्योती ढुंगाना र एण्जल ढुंगानाले निर्माण गरेका हुन् ।