५ बर्षपछि नेपाली चलचित्र ‘जय परशुराम’ मार्फत नेपाली चलचित्रमा कमब्याक गरेका नायक विराज भट्ट अहिले भोजपुरी चलचित्रमा नै व्यस्त छन् । अब लगातार नेपाली चलचित्रमा काम गर्ने बताएका विराजले चलचित्र ‘जय परशुराम’ पछि भने अन्य कुनै नेपाली चलचित्र साइन गरिसकेका छैनन् । भोजपुरी बजारमा नेपालका एक्शन सुपरस्टार भनेर चिनिने नायक विराज भट्टले पहिलो पटक भोजपुरी चलचित्रको गीतमा आफ्नो आवाज दिएका छन् । विराज भट्टले भोजपुरी फिल्म ‘लागी तोहसे लगन’ मा समाबेश एक गीतमा आफ्नो आवाज दिएका हुन । निर्देशक रवि कश्यप र संगीतकार एस.कु्मारको आग्रहमा उनले यो गीत गाएका हुन । यो गीतको भिडियो युटयुबमा पनि सार्वजनिक भइसकेको छ । गीतमा विराज र भोजपुरी अभिनेत्री काजल फिचरिङ छन् । यो चलचित्र रिलिजको तयारीमा रहेको छ ।
नेपाल र भोजपुरी मार्केटमा विकाउ एक्शन नायकको रुपमा आफुलाई चिनाएका विराज भट्टले अब गीतमार्फत दर्शक, स्रोताहरुको मन चाहिँ कतिको जित्न सफल होलान् त्यो त समयले नै देखाउँला ।