नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको मुख्य भूमिका रहने चलचित्र ‘राज्जा रानी’ को आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको छ । ‘कोहिनूर’, ‘वीर विक्रम’ लगायतका केही चलचित्रहरुको कथा कोरिसकेका यम थापाले निर्देशन गर्ने यो चलचित्रमा नाजिर र केकीको अलवा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रको निर्माण घोषणा कार्यक्रममा नै ‘राज्जा रानी’ को शुभमुहुर्त पनि गरिएको छ । चलचित्रको मुहुर्त सर्ट नायिका केकी र नाजिरले प्रेमिल संवाद बोल्दै दिएका थिए । चलचित्र ‘राज्जा रानी’ मा नायिका रेखा थापा र नायक भुवन केसी मध्ये एक जनाको केमियो हुन सक्ने खबर प्राप्त भएको छ । कार्यक्रममा रेखा थापा र भुवन केसी दुवैको उपस्थितीले उनीहरु मध्ये नै एकको केमियो हुन सक्ने अनुमान लगाउन सकिन्छ । तर, यस कुरालाई भने निर्माणपक्षले गोप्य राखेको छ ।
कार्यक्रममा चलचित्र ‘राज्जा रानी’ लाई नायक भुवन केसी, नायिका रेखा थापा, सेन्सर बोर्डका सदस्य सन्दिप सापकोटा, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय लगायतका व्यक्तिहरुले शुभकामना दिएका थिए ।
चलचित्रमा तारा प्रकाश लिम्बु र दीपक शर्माको संगीत, राजेन्द्र थापा र यम थापाको गीत, सहिमा श्रेष्ठ, सुमिना तामांग लामा र नरहरी प्रेमीको स्वर, पुरुषोत्तम प्रधानको छायाँकन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । फागुन ५ गतेबाट फ्लोरमा जाने यो चलचित्रको अधिकांश दृश्य नेपालगञ्जमा खिचिनेछ । आर्यन फिल्मस् प्रोडक्शनको ब्यानरमा बन्ने यो चलचित्रलाई रमेश एम.के. पौडेलले निर्माण गर्न लागेका हुन ।
तश्वीर : मिलन ढुंगाना