यदी नेपाली चलचित्रमा कसैको नामले चलचित्र चल्छ भने ति नायक हुन, निखिल उप्रेती । नायिका सञ्चिता लुइँटेलसँग विवाह गर्नुभन्दा अगाडी उनका चलचित्रले गर्ने व्यापार देखेर निर्माताहरु नै चकित हुने गर्थे । त्यसैले त उनले डेढ दशकको अवधिमा २ सय भन्दा बढी नेपाली सिनेमामा काम गरे । ति मध्ये कतिले निर्मातालाई कंगाल पनि बनाए भने कतिले निर्मातालाई मात्र होइन निखिललाई पनि मालामाल बनायो । ‘पिँजडा’ बाट नेपाली चलचित्रमा भित्रिएका निखिलले एकपछि अर्को एक्शन चलचित्रमा आफ्नो दमदार अभिनय प्रस्तुत गर्दा दर्शकहरुको मानसिकतामा नै नेपाली चलचित्रका एक्शन नायक निखिल उप्रेती मात्रै हुन भन्ने समेत छाप बनायो । त्यसैको फलस्वरुप निखिलको स्टारडमले एकपछि अर्को गर्दै तहल्का पिट्न थाल्यो ।
तर, नायिका सञ्चिता लुइँटेलसँग विवाह गरेर ५ बर्षसम्म नेपाली चलचित्रबाट टाढा रहँदा निखिल पनि पलायन त भएनन् भन्ने बहसले नेपाली सिनेवृत खुबै तातेको थियो । तर, ५ बर्षपछि आफ्नै निर्देशन र निर्माणमा निखिलले कमब्याक चलचित्र ‘भैरव’ बनाए । ‘भैरव’ ले निखिलको कमब्याक सफल पनि बनायो । त्यसपछि फेरी निर्माताहरु निखिललाई आफ्नो चलचित्रमा लिनका लागि झुम्मिन थाले । ‘भैरव’ रिलिजको ६ महिनापछि फेरी निखिल अभिनित चलचित्र ‘लुटेरा’ प्रदर्शनमा आयो । यो चलचित्रले औसत व्यापार गरेपनि निखिलको भूमिकालाई दर्शकहरुले खुबै रुचाए । ‘लुटेरा’ पछि निखिलले झण्डै आधा दर्जन बढी सिनेमामा काम गरिसकेका छन् । तर, रिलिजमा भने यस बर्षका लागि चलचित्र ‘किङ’ पहिलो भयो । धेरैको आश थियो १ बर्षपछि हलमा लागेको निखिलको चलचित्र ‘किङ’ ले धुम मच्चाउँछ भन्ने तर त्यसको विपरित भयो किङको व्यापार । पुष २८ गते रिलिज भएको चलचित्र ‘किङ’ ले प्रदर्शनको तेस्रो दिन अर्थात शनिबार गज्जबकै व्यापार गर्यो तर लगानी भने उठाउन असफल रह्यो । लगानी सेभ गर्न सकोस् पनि कसरी किनकी यो चलचित्रसँग अन्य दुई चलचित्र पनि हलमा लागेका थिए । ‘लभ साशा’ र ‘शब्द’ ले गर्दा पनि निखिलको ‘किङ’ले सोचे जस्तो लगानी उठाउन असफल रह्यो ।
एक बर्षपछि निखिल अभिनित चलचित्र किङ हलमा लाग्दा पनि सुखद व्यापार नगरेपछि अहिले एउटै बहस चलिरहेको छ ‘कतै निखिलको स्टारडम सकिएको त होइन ?’
तर, निखिललाई चलचित्र ‘किङ’ असफल भएकोमा कुनै दुख छैन किनकी उनलाई चलचित्रको कमी नै छैन । हाल चलचित्र ‘पिँजडा ब्याक अगेन’ को छायाँकनमा व्यस्त निखिलको नयाँ बर्षको दिन चलचित्र ‘राधे’ प्रदर्शनमा आउँदैछ भने अर्को बर्षको दशैमा ‘पिँजडा ब्याक अगेन’ प्रदर्शनमा आउने तयारीमा छ ।
बर्षदिनपछि हलमा लागेको किङले समेत कमाल नगरेपछि कतै निखिलको स्टारडम कमजोर त हुँदै छैन ? भन्ने बहस सुरु भइरहेको अबस्थामा निखिलको यसतर्फ भने ध्यान गएको देख्न सकिन्न । तर, अगामी दिनमा निखिल कमजोर कथावस्तु र कमजोर भूमिकामा देखिए भने बाँकी रहेको स्टारडम पनि एकदिन चौपट नहोला भन्न सकिन्न तर यसलाई जोगाउन निखिलभन्दा बाहेक अरु कसले नै पो सक्छ होला र !