बैशाख २९ गतेलाई रिलिज मिति लक गरिएको लभस्टोरी चलचित्र ‘रोमियो’ को ‘बाबरी’ बोलको गीत सार्वजनिक भएको छ । प्रेम दिवसको अवसरमा सार्वजनिक गरिएको गीतमा नायक हसनराज खानको बाबरी बनेकी छिन् नायिका निशा अधिकारी । प्रेमभाव बोल्ने गीतमा निशा र हसनराजाको केमेष्ट्री मज्जाकै देखिन्छ । गीतमा सन्तोष लामा र मेलिना राइको स्वर, मुकेश राइको शब्द, ताराप्रकाश लिम्बुको संगीत छ । एचआरके प्रोडक्न र एएसको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, ओसिमा बानु, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा अष्ट महर्जनको एक्सन, किरण माइकलको कथा, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन, शिशिर खत्रीको कोरियोग्राफी छ । चलचित्रको यो गीतमा मिठास छ । साथमा निर्माता हसनले भिडियो मेकिङमा पनि निकै मिहिनेत गरेको देख्न सकिन्छ । शंकर कार्कीले यो चलचित्रको निर्देशन गरेका हुन् ।