गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘प्रेम गीत’ ले गीतकै कारण राम्रै हाइप लियो । ‘म यस्तो गीत गाउँछु’ र ‘म त अलपत्र पर्छु’ बोलको गीतले बजार तताउन थालेपछि ‘प्रेम गीत’ हेर्ने दर्शकको भिडले सिनेमा हलहरु नै गज्जबले भरिए । बलियो कथावस्तु र मनछुने गीतले ब्राण्ड बनिसकेको ‘प्रेम गीत’ को हाल दोस्रो भाग तयार हुँदैछ । अहिले यो चलचित्रका प्रत्येक खबरहरुले दर्शकहरुको ध्यान खिच्दै गएको छ । पहिलो भागमा देखिएकी नायिका पूजा शर्मालाई ‘प्रेम गीत २’ बाट आउट गर्दै निर्माण कम्पनी आशुसेन प्रोडक्सनले नव-नायिका अश्लेषा ठकुरीलाई मुख्य भूमिकामा उभ्याएको छ भने नायक प्रदीप खड्का उही लभ व्वाईको भूमिकामा देखिँदैछन् । अहिले चलचित्र ‘प्रेम गीत २’ को धमाधम छायाँकन भइरहेको छ ।
केही हप्ता अगाडी चलचित्र ‘प्रेम गीत २’ को बाँकी छायाँकनका लागि निर्देशक, कलाकार, निर्माता र प्राविधिकसहितको २३ सदस्यीय क्रिउ थाइल्यान्ड उडेको थियो । १० दिनसम्म थाई पर्यटकीय थलो र पाँच दिन म्यानमारको राजधानीमा लभस्टोरी सिन खिचेपछि ‘प्रेम गीत २’ यूनिट क्लाइमेक्स छायांकनका लागि नेपाल फर्किएको छ । विदेश छायाँकन सकाएर नेपाल फर्किएको निर्माणपक्षले अब काठमाडौंमा नै सेट तयार पारेर पाँच दिनसम्म क्लाइमेक्स सिन खिच्ने तयारीमा जुटेको छ । काठमाडौं, पोखरा, लुम्बिनी, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुको रारातलमा सुटिङ भइसकेको चलचित्र ‘प्रेम गीत २’ को थाइल्यान्डको पथैया, सिल्भर लेक, कोसिचाङ टापु र म्यानमारको माण्डले पहाड, माण्डले दरबार, ऐतिहासिक पुलमा पुगेर छायाँकन गरिएका थियो । ‘विदेश सुटिङले हामीलाई उत्साहित तुल्याएको छ’ निर्माता सन्तोष सेनले भने, ‘अब काठमाडौंमा क्लाइमेक्स छायांकनलाई तयार छौं ।’
अश्लेषा ठकुरी र प्रदीप खड्काको मुख्य भूमिका रहेको यो चलचित्रलाई निर्देशक रामशरण पाठकले पनर्देशन गर्दैछन् । अहिले दर्शकहरु यो चलचित्रको रिलिज डेटको पखाईमा छन् ।