यसअघि कुनै पनि चलचित्रले बनाउन नसकेको रेकर्ड यस बर्षको प्रतिक्षित चलचित्र ‘लुट २’ ले प्रदर्शनको दुई दिनमा बनाएको छ । प्रदर्शनको दुईदिनमा ३ करोड ग्रस आम्दानी गर्दै ‘लुट २’ ले नेपाली चलचित्रको इतिहासमा सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीमा आफ्नो नाम दर्ता गरेको छ ।
प्रदर्शनको पहिलो दिन १ करोड ५२ लाख ग्रस आम्दानी गरेको ‘लुट २’ ले दोस्रो दिन पनि उतिक्कै आक्रामक विजनेश गरेको छ । निर्माण कम्पनी पपकर्न पिक्चर्सका अनुसार, चलचित्र ‘लुट २’ ले दोस्रो दिन शनिबार पहिलो दिनभन्दा १३ लाख बढी आम्दानी गरेको छ । दोस्रो दिन शनिबार ‘लुट २’ ले काठमाडौं भ्यालीबाट १ करोड ५ लाख र भ्याली बाहिरबाट ६० लाख ग्रस आम्दानी गरेको चलचित्रका निर्माता माधव वाग्लेले दावी गरेका छन् । दुईदिनको हिसाब जोड्ने हो भने चलचित्र ‘लुट २’ ले ३ करोड १२ लाख आम्दानी गरिसकेको छ ।
शुक्रबार र शनिबार देशभरका मल्टिप्लेक्स र सिंगलहलहरुमा चलचित्र ‘लुट २’ हाउसफूल थियो ।
तपाईहरुलाई बताइदिउँ कि चलचित्रका निर्माता माधव वाग्लले चलचित्र ‘छक्का पन्जा’ को रेकर्ड २१ दिनमा लुट २ ले तोड्ने दाबी गरेका थिए । ‘छक्का पन्जा’ को रेकर्ड तोड्न ‘लुट २’ को लाइफटाइम कलेक्शन १७ करोड हुनु पर्नेछ ।
सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लुट २’ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको चलचित्र ‘लुट २’ मा पुरुषोत्तम प्रधानको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बासकोटा, रोशन थापा, हर्कुलस बस्नेत र सुरज शाही ठकुरीको संगीत र राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको छ ।
निर्माणपक्षका अनुसार, हाकु कालेले बैंक लुटेर धोका दिएपछि नरे, गोफ्ले, पाण्डे र खत्री लगायतले कसरी हाकु कालेलाई दुख दिन्छन् भन्ने चलचित्र ‘लुट २’ मा देखाउन खोजिएको छ ।