नेपाली चलचित्रकी बोल्ड नायिका पवित्रा आचार्य स्टार नायककी हिरोइन हुन । चलचित्र ‘राजनीति’ मा राजेश हमाल, ‘विजयपथ’ मा निखिल उप्रेती, ‘आवेग’ मा आर्यन सिग्देललगायतका स्टार नायकहरुको हिरोइन भएर काम गरिसकेकी पवित्रा आचार्यले आधा दर्जन बढी सिनेमामा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छिन् । अभिनयमा जम्दै गएकी पवित्राले कोरियोग्राफीमा पनि हात हालेकी छिन् । हालैमा निर्देशक बसन्त निरौलाको चलचित्र ‘मेला’ मा समाबेश अर्जुन पोख्रेलको संगीत रहेको तीन गीतमा सोलो कोरियोग्राफर भएर नायकद्धय आमेश भण्डारी, सलोन बस्नेत र नायिका अशिष्मा नकर्मीलाई पवित्राले छमछमी नचाएकी थिइन ।
सानैदेखी नृत्यमा झुकाव राख्ने पवित्रा हाल ३ वटा विद्यालयमा नृत्य शिक्षिका भएर पनि काम गरिरहेकी छिन् । पवित्राले गायिका कोमल वलीको आवाजमा समावेश एक तीज गीतबाट कोरियोग्राफीमा डेब्यू गरेकी हुन ।नृत्य निर्देशन र अभिनयलाई एकसाथ लैजाने सोचमा रहेकी पवित्राले चलचित्र ‘मेला’ मा समाबेश गीतमा आफुले सेटमा विशेष ध्यान दिएको बताइन । उनी भन्छिन्, ‘त्यस्तो गज्जबकै राम्रो काम गरेको छु भनेर दाबी त गर्न सक्दिन तर दर्शकहरुले मन पराउनुहुन्छ भन्नेमा चाहिँ ढुक्क छु ।’ पवित्राले इलाहावादबाट क्लासिकल डान्समा डिप्लोमा पनि गरेकी छन् । उनले, ‘मेजर डान्स’ बिषयमा नै अध्ययन गरेकी हुन् ।
तश्वीर : पवित्राको फेसबुकबाट