यस बर्षको प्रतिक्षित चलचित्र ‘लुट २’ ले आज शुक्रबारबाट दोस्रो हप्तामा आफ्नो प्रदर्शन आरम्भ गरेको छ । पहिलो हप्ता धमाकेदार कलेक्शन गरेको चलचित्र ‘लुट २’ ले दोस्रो हप्तामा कस्तो विजनेश गर्ने हो त्यसको रिजल्ट कुर्न भने केही दिन पर्खनै पर्ला । ‘ठमेल बजार’ बोलको आइटम गीत र ट्रेलरले रिलिज अगावै प्रतिक्षित बनेको चलचित्र ‘लुट २’ ले पहिलो हप्तामा ६ करोड ग्रस कलेक्शन गरेको निर्माण कम्पनी पपकर्न पिक्चर्सले जानकारी दिएको छ । प्रदर्शनको ४ दिन आक्रामक व्यापार गरेको यो चलचित्रले गएको मंगलबारबाट भने औसत व्यापार गरिरहेको छ । प्रदर्शनको २१ दिनमा नै चलचित्र ‘छक्का पन्जा’ को लाइफ टाइम कलेक्शन १६ करोडलाई उछिन्ने चलचित्रका निर्माता माधव वाग्लेले गरेको दाबी सफल हुन्छ वा हुँदैन त्यसको प्रतिक्षा पनि अहिले राम्रै भइरहेको छ । फागुन १३ गते सोलो रिलिजमा आएको चलचित्र ‘लुट २’ ले दोस्रो हप्ता पनि एकलौटी बजार खाने पक्का छ किनकी यो हप्ता पनि ‘लुट २’ बाहेक अन्य कुनै नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् ।
सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लुट २’ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको चलचित्र ‘लुट २’ मा पुरुषोत्तम प्रधानको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बासकोटा, रोशन थापा, हर्कुलस बस्नेत र सुरज शाही ठकुरीको संगीत र राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको छ ।
निर्माणपक्षका अनुसार, हाकु कालेले बैंक लुटेर धोका दिएपछि नरे, गोफ्ले, पाण्डे र खत्री लगायतले कसरी हाकु कालेलाई दुख दिन्छन् भन्ने चलचित्र ‘लुट २’ मा देखाउन खोजिएको छ ।