अचम्ममा नपर्नुहोस्, बलीउड अभिनेता रणवीर कपूर सात बर्ष जेल जान लागेका होइनन् । उनी सञ्जय दत्तको बायोपिकमा बन्न लागेको फिल्ममा हाल व्यस्त रहेका छन् । यसै फिल्मको लागि उनी सात दिनका लागि जेलमा बस्न लागेका हुन् ।
राजकुमार हिरानीको निर्देशनमा बन्न लागेको यस फिल्ममा सञ्जय दत्तको भूमिका रणवीर कपूरले गरेका छन् । यस फिल्ममा सञ्जय दत्तको भूमिकामा रणवीर कपूर पुर्ण रुपमा डुबेका छन् । यही क्रममा उनलाई जेलको हावा खान समेत मिलेको छ ।
मिडिया रिपोर्टका अनुसार उनी सात दिनसम्म भोपालको जेलमा बन्द रहनेछन् । हाल रणवीर भोपालमा रहेका छन् । भोपालको जेलमा रहेका कैदीहरु समेत रणवीरलाई देख्न ललायित रहेका छन् । सञ्जय दत्तलाई गैर कानुनी रुपमा हतियार राखेको आरोपमा जेल सजाय भएको थियो ।
यही सिनलाई फिल्ममा देखाउनका लागि भोपालको पुरानो जेललाई आर्थर रोड जेलमा फेरिएको छ, जहाँ फिल्मको सुटिङ भएको थियो । रणवीर कपूर यो फिल्ममा त्यतिबेलाको सञ्जय दत्तको लुकमा देखिएका छन् ।