गत वर्ष मराठी भाषामा ‘सैराट’ नामको एउटा फिल्म रिलिज भयो । अन्तरजातिय प्रेमसम्बन्धमा आधारित उक्त फिल्मलाई दर्शकहरुले यति धेरै मन पराए कि विभिन्न रेकर्ड राख्दै सुपरहिट भयो ।
फिल्ममा मुख्य कलाकारको रुपमा रिन्कु राजगुरु र आकाश थोसारले अभिनय गरेका थिए । फिल्म रिलिज अघिसम्म गाँउमा सामान्य जिवन बिताइरहेका कलाकारहरुलाई रिलिजपछि बाटोमा हिँड्दा पनि भिडले घेरेर हैरान हुन थाल्यो ।
सैराट फिल्म रिलिज हुँदा अभिनेत्री रिन्कु जम्मा ९ कक्षामा पढ्दै थिइन् । फिल्म हिट भएपछि रिन्कुले स्कुल नै छोड्न पर्यो । वास्तवमा फिल्म रिलिज भएपछि स्कुल जाँदा उनलाई हेर्नको लागि भिड जम्मा हुन थाल्यो ।
यसै कारणले रिन्कुले स्कूल छोडिदिइन् र प्राइभेट स्टुडेन्टको रुपमा परिक्षा दिने फैसला गरिन् । उनले ९ कक्षामा ८१ प्रतिशत अंक हासिल गरेकी थिइन् । भारतको महाराष्ट्रमा ७ मार्चबाट दश कक्षाको परिक्षा सुरु भएको छ र सैराटकी नायिका रिन्कु पनि यसपटक १० कक्षाको परिक्षा दिँदैछिन् ।
जीजामाता कन्या स्कूलको सेन्टरमा रिन्कु परिक्षा दिन पुगेकी थिइन् । कक्षा १० को पहिलो परिक्षा दिन पुगेकी रिन्कुलाई परिक्षा केन्द्र की प्रमुख मन्जुषा जैनले फूल दिएर उनको स्वागत गरेकी थिइन् ।
नागराज मन्जुलले निर्देशन गरेको मराठी फिल्म सैराटमा काम गरेपछि नै रिन्कु गाँउकी सामान्य युवतीबाट रातारात सुपस्टार बनेकी हुन् ।
विभिन्न ६ वटा भाषमा रिमेक हुन लागेको सैराटको कन्नड रिमेकमा पनि रिन्कुले लिड रोल गरेकी छिन् । उनको आउन लागेको अर्को फिल्म ‘मनसु मल्लिगे’ हो ।