केही महिना अगाडी झण्डै ४ बर्ष लामो आमेश भण्डारीसँगको प्रेम सम्बन्ध तोडेर अहिले एक्लो जीवन विताइरहेकी नायिका नीता ढुंगानाको गएको महिनामा मात्र ‘लेकसाइड’ चलचित्र प्रदर्शनमा आएको थियो । जीवन लुइँटेलको जोडी बनेर ‘लेकसाइड’ मा देखिएकी नीतालाई यो चलचित्रले नराम्रै धोका दियो । चलचित्र खेलेपछि पव्लिसिटीमा समय नदिने आरोप खेप्दै आइरहेकी नीता अर्को महिनाको चैत ११ गते नायक निखिल उप्रेतीकी श्रीमती भएर चलचित्र ‘निर्भय’ मा देखा पर्दैछिन् । निर्भयको रिलिज डेट नजिकिँदै गर्दा नीता भने अहिले यूएईमा छिन् । उनी हाल चलचित्र ‘रेस’ को दुई गीतको सूटका लागि यूएई पुगेकी हुन । हाल यूएईमा छायाँकन भैरहेको दुई गीतमा आनन्द कार्कीको संगीत, अन्जु पन्त, दिप राजन, सुजता उपाध्याय, नारायण, लगायतको स्वर छ । गीतमा नव नायक बिशाल रेग्मीले नायिका नीता ढुंगानासँग रोमान्स गरेका छन् । यो गीतमा चलचित्रकी अर्की नायिका पुष्पा लिम्बु पनि फिचरिङ हुनेछिन् । चलचित्र ‘रेस’ लाई निर्देशक किशोर शुब्बाले निर्देशन गरेका हुन् । चलचित्रमा मन्दील श्रेष्ठको सम्पादन र गोबिन्द राईको कोरियोग्राफि रहेको छ ।
नयाँ बर्षको छेकोमा रिलिज गर्ने तयारी भइरहेको यो चलचित्रमा आफ्नो गाउँ ठाउँबाट संघर्ष गर्दै आफ्नो करियर पुरा गर्न काठमाडौं छिरेका चार पात्रको कथालाई पर्दामा उतारिएको छ । चलचित्रमा पुष्पा लिम्बु, राजेश हमाल, निता ढुंगाना, किरण केसी, सुलेमान शंकर (इकु), रबिन्द्र खडकाका साथै नव-प्रस्तुतिमा बिशाल रेग्मीको पनि मुख्य भूमिका रहेको छ । माता पाथिभरा फिल्म्सको ब्यानरमा तयार भएको यो चलचित्रमा किशोर शुब्बाको कथा र मौनता श्रेष्ठको पटकथा तथा सम्बाद रहेको छ ।