आज शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको चलचित्र ‘लुट २’ ले ७ करोड ग्रस कलेक्शन गरिसकेको छ । सोचे अनुसार व्यापारमा वृद्धि नभएपनि ‘लुट २’ ले प्रदर्शनको पहिलो हप्ता भने हंगामा नै गरेको थियो । अब सोही चलचित्र ‘लुट २’ मा मुख्य भूमिका निर्वाहा गरेका दुई कलाकार दयाहाङ राई र सौगात मल्ल अभिनित अर्को नयाँ चलचित्र ‘लप्पन छप्पन’ चैत ११ गतेबाट हलमा लाग्दैछ । जसरी यस बर्षका लागि ‘लुट २’ प्रतिक्षित बनेको थियो, त्यसरी नै अहिले ‘लप्पन छप्पन’ पनि दर्शकहरुका लागि प्रतिक्षित बन्दै गएको छ । तर, सोही मितिमा सिंगल हलका बादशाह निखिल उप्रेती स्टारर मूभी ‘निर्भय’ आउने भएका कारण दया र सौगातले कतिको धुम मच्चाउन सक्लान् त्यसको नतिजा कुर्न भने चैत ११ गतेसम्म पर्खनै पर्ला ।
तपाईहरुलाई बताइदिउँ कि, सिंगल हलका बादशाह निखिल भएपनि मल्टिप्लेक्समा भने सौगात र दयाहाङकै बोलबाल छ । त्यसैले पनि सिंगलमा निखिल र मल्टिप्लेक्समा सौगात र दयाहाङले तहल्का मच्चाउनेमा दुई मत छैन ।
यूरोप, स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम र नेपालमा खिचिएको चलचित्र ‘लप्पन छप्पन’ मा मुकुन्द भट्टको लेखन तथा निर्देशन छ । दयाहाङ राई, सौगात मल्ल, बर्षा सिवाकोटी अर्पण थापा, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ती भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, चन्द्र पन्तको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन, दीपक आरजेको संगीत छ । डम्बर बहादुर चन्द निर्माता रहेको चलचित्रमा इन्द्रप्रसाद खरेल सह-निर्माता, सहदेव गौतम कार्यकारी निर्माता एवं सानुका कँडेल प्रस्तुतकर्ता छन् । एक्सन थ्रिलर कथामा यो चलचित्र बनाइएको निर्देशकको भनाई छ ।