बल्कबष्टर फिल्म ‘बाहुबली’ रिलिज भएको डेढ वर्षभन्दा बढी भइसकेको छ । यो फिल्म हेर्ने हरेकका मनमा उब्जिएको एउटै प्रश्न हो, ‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ फिल्मको पहिलो भाग हेरेदेखि अहिलेसम्म सबैका मनमा यो प्रश्न मात्र उब्जिरहेको छ । यही प्रश्नको जवाफ खोज्नको लागि दर्शकले फिल्मको दोश्रो भागको तीब्र प्रतीक्षा गरिरहेका छन्। तर, दोस्रो भाग रिलिज हुनुभन्दाअघि नै सामाजिक संजालमा यसबारे थुप्रै अनुमान, चर्चा, परिचर्चा तथा खोज भइसकेका छन्। यदि तपाइँलाई पनि यसको जवाफ चाहिएको छ भने अब थाहा पाउनुस् कटप्पाले बाहुबलीलाई किन मारे त ? तर उत्तर सोचेजति सजिलो भने छैन। यसको जवाफ स्वयं कटप्पाले नै दिएका छन्।
बिबीसी हिन्दीका अनुसार सुपरिचित फिल्म समीक्षक अनुपमा चोपडाले कटप्पाको भूमिका निभाउने सत्यराजलाई यसबारे सोध्दा सुरुमा उनी निरुत्तर भएका बताइएको छ। ‘तपाईँलाई यो प्रश्न बारम्बार सोधिन्छ, यस्तो परिस्थितिलाई कसरी सम्हाल्नुहुन्छ ?’ उनले भने, ‘संसारमा जहाँ गए पनि मलाई यही प्रश्न सोधिन्छ, अब मैले यो रहस्यबारे केही बोल्नै पर्छ।’ कटप्पाले बाहुबलीलाई आखिर मारे त ? भन्ने प्रश्नको उत्तर सत्यराजले एक लाइनमा दिए, ‘डायरेक्टरले मलाई यस्तै गर्न भनेका थिए त्यसैले मैले बाहुबलीलाई मारेको हुँ।’ ‘तपाईँले यति वर्षदेखि यो प्रश्नको जवाफ लुकाउँदै आउनु भएको छ, के आफ्नो परिवारलाई पनि बताउनु भएको छैन ?’ जवाफमा उनले भने, ‘होइन, उनीहरुले मलाई यसबारे कहिल्यै सोधेका छैनन्।’