सन् २००१ मा रिलिज भएको ‘दर्पण छायाँ’ को सिक्वेल अहिले नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ । तुलसी घिमिरे निर्देशित यो चलचित्रमा नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ । हुनत, उत्तम प्रधान र दीलिप रायमाझी पनि ‘दर्पण छायाँ’ मा काम गर्दा नयाँ कलाकार अनुहार थिए तर यो चलचित्रले उनीहरुलाई स्टार बनायो । अहिले तुलसी घिमिरे चलचित्र ‘दर्पण छायाँ २’ बाट तीन कलाकारलाई स्टार बनाउने दौडमा छन् । ती हुन नायक पुष्पल खड्का र नायिकाद्धय साहारा कार्की र श्रद्धा प्रसाई । यी तीन कलाकारहरुलाई ‘दर्पण छायाँ २’ ले स्टार बनाउला वा नबनाउला त्यो त केही दिन भित्रमा नै थाहा हुनेछ । तर, यो चलचित्रबाट नायिका साहारा कार्कीले भने राम्रो संभावना देखाएकी छिन् । अमेरिकामा जन्मिएकी र अमेरिकामा नै हुर्किएकी साहाराले ‘दर्पण छायाँ २’ मा अब्बल अभिनय प्रस्तुत गरेकी छिन् । चलचित्र ‘दर्पण छायाँ २’ मा उनको सुन्दरता, नृत्य, अभिनय उत्कृष्ट छ ।
चलचित्र हेरेका दर्शकहरुले साहाराको तारिफ नगरि बस्न सक्दैनन् । चलचित्र ‘दर्पण छायाँ २’ ले मनोरञ्जन दिन्छ वा दिँदैन त्यो हेर्न त हलसम्म नै जानु पर्ला तर साहाराको अभिनयले भने दर्शकहरुलाई गज्जबले बाँध्छ । यो भन्दा फरक नहोला कि साहाराले अभिनयमा केही मिहनेत गरे उनी भोलीका दिनमा नेपाली चलचित्रकी संभावना बोकेकी नायिका बन्न सक्छिन् । प्रदर्शनको दुई दिन शुक्रबार र शनिबार यो चलचिभत्रको व्यापार औषत छ ।
यो चलचित्रमा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाईका अलवा फिरोज तिमिल्सिना, सरोज खनाल, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल, रोनी केसी लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई सनु कार्की र रवी कार्कीले निर्माण गरेका हुन् । चलचित्रका प्रस्तुतकर्ता भने डाक्टर लोपसाङ लामा हुन् । चलचित्र ‘दर्पण छायाँ २’ को कथा र निर्देशन तुलसी घिमिरे आफैले गरेका हुन ।