चलचित्र ‘हिटलर’ अर्को बर्षको जेठ १२ गतेबाट हलमा लाग्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले चलचित्रको फस्टलुक पोष्टर र रिलिज डेट सार्वजनिक गरेको हो । चलचित्रको पोष्टर सभासद् रामवीर मानन्धर र चलचित्र पत्रकार संघ, नेपालका नव निर्वाचित अध्यक्ष सन्दिप सापकोटाले सार्वजनिक गरेको हुन ।
रोमान्टिक कमेडी कथामा तयार भएको चलचित्र ‘हिटलर’ अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले संयूक्त रुपमा निर्माण गरेको हो । चलचित्रमा सोहित मानन्धर, समिया बर्तौला, मेनुका प्रधान, अर्जुन गुरुङ, दिवश धिताल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । कार्यक्रममा बोल्दै चलचित्रका नायक सोहित मानन्धरले चलचित्र ‘हिटलर’ सबै बर्गका दर्शकहरुले रुचाउने दाबी गरे । उनले भने, ‘मैले अन्य चलचित्रमा भन्दा हिटलरमा राम्रो काम गरेको महशुस गरेको छु । फरक कथावस्तुमा निर्माण भएका कारण म ढुक्क छु दर्शकहरुलाई चलचित्रले मनारेञ्जन प्रदान गर्नेछ ।’त्यस्तै, यो चलचित्रबाट नेपाली रजतपटमा भित्रिन लागेकी नव-नायिका समिया बर्तौलाले ‘हिटलर’ को स्क्रिप्ट राम्रो लागेका कारण काम गरेको बताइन् । चिनिमाया मानन्धर निर्माता रहेको चलचित्रमा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहेका छन् । लोचन घिमिरे र सौरभ ढकाल चलचित्रको सह–निर्माता हुन् ।
चलचित्रमा ए.आर पौडुवालको छायाँकन, लोचन घिमिरेको संगीत, किच्चामान चित्रकारको कथा र कृष्ण के अच्छामीको कोरियोग्राफी छ । चलचित्रलाई सौरभ ढकालले निर्देशन गरेका हुन । अहिले चलचित्रको ‘तिमी म:म खाँदै म चाउमिन बजाउँदै’ बोलको गीत चर्चामा छ ।
तश्वीर : मिलन ढुंगाना