यस बर्षको बल्कबष्टर चलचित्र ‘छक्का पन्जा’ को सिक्वेल चाँडै निर्माण हुँदैछ । यसको केही दिन अगाडी मात्र निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो फेसबुकमा आधिकारीक घोषणा गर्दै चलचित्र ‘छक्का पन्जा २’ निर्माण हुने जानकारी दिएका थिए । तर, बिहिवार राजधानीमा एक कार्यक्रममा बोल्दै ‘छक्का पन्जा’ की निर्देशक एवं निर्मात्री दीपाश्री निरौलाले ‘छक्का पन्जा’ को सिक्वेलको नाम ‘छक्का पन्जा २’ नभएर ‘छक्का पन्जा फेरी’ हुने बताइन् । उनका अनुसार, चलचित्र ‘छक्का पन्जा फेरी’ मा अधिकांश पुरानै कलाकार हुनेछन् भने एक नायक र एक नायिका नयाँ रहनेछन् । नयाँ कलाकार पनि अहिलेका चलेका कलाकार हुने दीपाश्रीले बताइन् । यो चलचित्रलाई दीपाश्रीले नै निर्देशन गर्ने पक्का भइसकेको छ ।
चलचित्र ‘छक्का पन्जा फेरी’ का लागि दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत फाइनल भैसकेका छन् । ‘छक्का पन्जा फेरी’ आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुनेछ । जेठ १० गतेबाट छायाँकन आरम्भ हुने बताइएको यो चलचित्रको कथा ‘नाइँ नभन्नू ल’ फेम निर्देशक विकासराज आचार्यले लेखेका हुन । निर्माणपक्षले चलचित्र ‘छक्का पन्जा फेरी’ को कथा छक्का पन्जा जहाँबाट अन्त्य भएको थियो त्यहिँबाट सुरु हुन्छ वा हुँदैन यस बारेमा भने जानकारी दिएको छैन । तर, कलाकार दीपकराजका अनुसार, चलचित्र ‘छक्का पन्जा फेरी’ को कथा विल्कुलै नयाँ हुनेछ ।