नयाँ बर्ष २०७४ बैशाख १ गतेबाट हलमा लाग्ने तयारीमा रहेको नायिका केकी अधिकारी र नायक दयाहाङ राई स्टारर मूभी ‘घामपानी’ को ट्रेलर रिलिज भएको छ । यसअघि सार्वजनिक भएको यो चलचित्रको ‘पंक्षी’ बोलको गीतले बजार पिटिरहेको अवस्थामा निर्माणपक्षले चलचित्रको प्रचारलाई आक्रामक बनाउने क्रममा ट्रेलर सार्वजनिक गरेको हो । बिहिवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रका मुख्य कलाकार केकी र दयाहाङको अनुपस्थितीमा नै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा नायक दयाहाङ तामाङको छोरा र केकी बाहुनकी छोरीको भूमिकामा छन् र उनीहरुको प्रेमलाई नै ट्रेलरमा विषेश फोकश गरिएको छ । फरक जातसँग प्रेम गर्दा उत्पन्न हुने विभिन्न समस्यहरुलाई ट्रेलरमा देखाउने प्रयास गरिएको छ ।
दीपेन्द्र लामाले निर्देशन गरेको ‘घामपानी’ मा दयाहाङ र केकीका अलवा अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, बुद्धि तामाङ, अरुणा कार्की, कविता आले, मणिराम पोखेरल, अमोघ पोखरेल, लक्ष्मी बर्देवा, केशव राई प्रेमवर्षा खड्कालगायतको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखेरल हुन् । यो चलचित्रले एउटै गाउँका दुई फरक जातिका यूवा र यूवतीबीच प्रेम हुँदा दुई पक्षको पारिवारिक सम्बन्धमा पैदा हुने उचारचढाव र आफ्नो प्रेम सम्बन्ध सफल बनाउन उनीहरुले गर्ने संघर्षको कथा प्रस्तुत गर्नेछ । चलचित्रमा कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत रहेको छ भने पाश्र्व संगीत रोहित शाक्यको छ ।