झण्डै निर्माण घोषणा गरिएको २ बर्षपछि अन्ततः सुबिन भट्टराईद्धारा लिखित चर्चित पुस्तक ‘समर लभ’ माथी चलचित्र निर्माण हुने भएको छ । यसको आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको छ । पुस्तकका मुख्य पात्र ‘अतित’ र ‘साया’ चलचित्रका लागि खोज्न निर्माणपक्षले २ बर्ष लगाएको हो । अब भने चलचित्रका लागि ‘अतित’ र ‘साया’ पनि भेटिएका छन् । निर्माण कम्पनी नाईटिंगेल इन्टरनेशनल प्रा.लीले आइतबार चलचित्रको औपचारिक निर्माण घोषणासँगै चलचित्रका दुई मुख्य पात्र ‘अतित’ र ‘साया’ लाई पनि सार्वजनिक गरेको छ । अब चलचित्रमा आशिष पियाले ‘अतित’ को भूमिका प्ले गर्नेछन् भने रेवती क्षेत्रीले ‘साया’ को । ‘समर लभ’ मा अतितको क्यारेक्टर प्ले गर्न लागेका आशिषले यसअघि विभिन्न टिभिसी र पेपर एडमा काम गरिसकेका छन् भने ‘साया’ बन्न लागेकी रेवती थुप्रै ब्यूटी पेजेन्टकी विजेता हुन । सन् २०१६ को मिस एसिया यूनिभर्सिटी रेवती मिस इन्टरनेशनल भारतकी पनि विजेता हुन । योसँगै उनले भारतको एक चलचित्रमा समेत काम गरेकी छिन् भने उनी चाँडै बलीउड चलचित्र ‘खातुन’ मा पनि देखिने तयारीमा छिन् ।
‘नाइँ नभन्नू ल ३’ फेम निर्देशक मुस्कान ढकालले निर्देशन गर्ने यो चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाको हो भने संवाद लेखक सुबिन भट्टराई र सामिप्यराज तिमल्सेनाले मिलेर तयार पारेका हुन । चलचित्रमा पुष्पल प्रधानको संगीत रहनेछ ।
चलचित्र ‘समर लभ’ को निर्माण घोषणा कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक मुस्कान ढकालले ‘समर लभ’ पठ्ने पाठकहरुलाई चलचित्र ‘समर लभ’ ले पूर्ण मनोरञ्जन दिने दाबी गरे । यसअघि पुस्तक ‘समर लभ’ को कथामा ‘नाइँ नभन्नू ल ५’ को नाम दिएर निर्माण हुने पनि बताइएको थियो तर आन्तरिक कारणले चलचित्रको नाम ‘समर लभ’ नै राखिएको निर्माणपक्षले बताएको छ ।
चर्चित पुस्तक ‘समर लभ’ का लेखक सुबिन भट्टराईले पुस्तकभन्दा पनि चलचित्र राम्रो बन्नेमा आफु विश्वस्त रहेको बताए । उनले भने, ‘मैले विश्वास गरेर समर लभमाथी चलचित्र निर्माण गर्ने अधिकार दिएको छु । मलाई पूर्ण आश छ चलचित्र ‘समर लभ’ एउटा उत्कृष्ट चलचित्र बन्नेछ ।’ चलचित्र ‘समर लभ’ मा ‘अतित’ को भूमिका निर्वाह गर्न लागेका आशिष पियाले आफु पुस्तक ‘समर लभ’ को फ्यान भएको र अहिले पुस्तकमाथी निर्माण हुन लागेको चलचित्र ‘समर लभ’ मा मुख्य भूमिकामा काम गर्न पाउँदा अत्यन्त खुशी भएको बताए ।
त्यस्तै, ‘साया’ बन्न लागेकी रेवती क्षेत्रीले आफु चलचित्र ‘समर लभ’ को महत्वपूर्ण भूमिकामा प्रस्तुत हुन लागेकोमा खुशी महशुस गरिरहेको बताइन् । उनले भनिन्, “चलचित्र ‘समर लभ’ मा ‘साया’ निकै निडर, शाहसी यूवती हुन । म पुस्तककी ‘साया’ लाई न्याय दिने प्रयास गर्नेछु ।”निर्देशक मुस्कान ढकालले अहिले चलचित्रका लागि प्रमुख क्यारेक्टर मात्र चयन गरिएको र बाँकी कलाकारहरु केही दिन भित्रमा नै छनौट गर्ने जानकारी दिए । काठमाडौं, पोखरा र धनगडीमा छायाँकन हुने यो चलचित्रको छायाँकन बैशाख दोस्रो साताबाट फ्लोरमा जानेछ । प्राप्त जानकारी अनुसार, चलचित्रको केही छायाँकन विदेशमा पनि हुनेछ ।
चलचित्र समर लभलाई चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले शुभकामना दिएका थिए ।
यो चलचित्रमा भरत शर्मा, सपन सरकार, इन्दु भण्डारी र मनु बिक निर्माताको रुपमा रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता हुन ।
तश्वीर : मिलन ढुंगाना