अर्को बर्ष प्रतिक्षित भनिएका दर्जन बढी सिनेमाहरुले यसै बर्ष आफ्नो रिलिज डेट फाइनल गरिसकेका छन् । अनमोल केसीको ‘कृ’ देखी दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पन्जा फेरी’ सम्म अर्को बर्षका प्रतिक्षित चलचित्र हुन । यसैबीचमा नायक सौगात मल्ल र नायिका प्रियंका कार्कीको मुख्य भूमिका रहने चलचित्र ‘फाटेको जुत्ता’ ले पनि निर्माण अगावै रिलिज डेट फाइनल गरेको छ । चलचित्रका निर्माता अर्जुन कुमारका अनुसार, अब यो चलचित्र कार्तिक १७ गतेबाट हलमा लाग्नेछ । यसअघि यो चलचित्र भदौ २३ गतेबाट हलमा लाग्ने चर्चा थियो तर सो मितिमा निश्चल बस्नेतको चलचित्र ‘दुई रुपैयाँ’ रिलिज हुने पक्का भएपछि फाटेको जुत्ता कार्तिक १७ मा सरेको निर्माता अर्जुन कुमारले जानकारी दिए । यो चलचित्रमा प्रियंका र सौगातका अलवा कामेश्वर चौरासिया, रविन्द्र झाँ, सन्दिप क्षेत्री, वुद्धि तामाङ, रमेश रन्जन झा, आमिर गौतम लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा शंकर थापाको संगीत रहनेछ । निर्माता कुमारका अनुसार, यो चलचित्रको छायांकन अर्को बर्षको बैशाख १५ गतेबाट सुरु हुनेछ । दर्जनौं म्यूजिक भिडियो र ‘जिन्दगी रक्स’ नामक चलचित्र निर्देशन गरेका निकेश खड्काले यो चलचित्रलाई निर्देशन गर्ने पक्का भइसकेको छ ।